सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडाै । सर्वाेच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वाेच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो । शुक्रबार भएको सुनुवाइपछि दुवै न्यायाधीशको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको हो । यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवैजनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो । समितिमा प्रस्तावित न्यायाधीश कुमार चुँडालविरुद्ध दुई र नहकुल सुवेदीविरुद्ध पाँच वटा उजुरी परेको थियो । नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दर्ता भएको रिट सर्वाेच्च अदालतले चैत ३० मा खारेज गरेको थियो । सर्वाेच्चले राजपत्रांकित प्रथम श्रेणीको पददेखि सो भन्दा माथिल्लो पदमा अटुट रुपमा सुवेदीले १३ बर्ष ६ महिना २१ दिन कार्य गरेकाले योग्यतामा कुनै प्रश्न नै नरहेको समेत प्रष्ट्याएको थियो ।