मृत अवस्थामा भेटिए अर्को जोडी, कता जाँदै छ समाज? 

मंगलबार, साउन ३१, २०७९

रुपन्देही ।

रुपन्देहीको बुटवलस्थित एक होटलमा एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५ वर्षका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा पुरुषले महिलाको हत्या गरेर आत्महत्या गरेको जस्तो देखिएपनि विस्तृत अनुसन्धान बाँकी रहेको प्रहरीको भनाइ छ । 

पछिल्ला दिन आफन्तबाटै हत्या गरी आतमहत्या गर्ने डरलाग्दो प्रबृत्ति देखिदै गएको छ । केहीदिन अघि मात्र काठमाडौंको तारकेश्वरमा एकजना पुरुषले श्रीमती र दुईजना सन्तानको हत्या गरेर आत्महत्या गरेका थिए । 

बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नम्बर १३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए ।

सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।

महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । तर उनका श्रीमान विदेशतिर रहेको र एक महिनादेखि हराएको जानकारी आएको प्रहरी निरीक्षक घिमिरेले बताए ।

दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए । घटनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार