गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव

बिहीबार, वैशाख २, २०७८

पोखरा । गण्डकी  प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका प्रदेश सांसदले बिहीबार अविश्वास प्रस्ताव पेस गरेका हुन् । प्रस्तावमा २८ सांसदको हस्ताक्षर छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास प्रस्ताव तयार पारिएको हो । गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् । तर, अविश्वास प्रस्ताव दर्ता हुने थाहा पाएपछि प्रदेशसभाको चालू अधिवेशन रातारात अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरेका हुन् । अविश्वास प्रस्ताव दर्तासँगै कांग्रेस, माओवादी, राजमो र जसपाका सांसदले अधिवेशन माग गर्दै प्रदेशप्रमुखसमक्ष समावेदन गर्ने वा नियमित अधिवेशन कुर्ने भन्नेबारे दलहरू छलफलमा छन् । प्रदेश अधिवेशन अन्त्य गरे पनि २५ प्रतिशत सांसदले माग गरे पुनः अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता छ । दलहरूले अविश्वास प्रस्ताव पेस गरेसँगै प्रदेशसभा सचिव हरिराज पोखरेल त्यसलाई कसरी अघि बढाउने भन्नेबारे सभामुख नेत्रनाथ अधिकारीलगायतसँग छलफलमा जुटेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १३:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार