नाइल बाँधका बारेमा छलफल गर्न सुडानद्वारा इथियोपिया र इजिप्टलाई आमन्त्रण

बुधबार, वैशाख १, २०७८

खार्तुम । सुडानका प्रधानमन्त्रीले आफ्ना इजिप्ट र इथियोपियाका समकक्षीलाई नाइल नदीमा निर्माणाधीन बाँधका विषयमा छलफल गर्न आमन्त्रण गरेका छन् । इथियोपियाको विशाल बाँध परियोजनालाई लिएर सुडान, इथियोपिया र इजिप्टबीच विवाद उत्पन्न भएको छ । गत साता, अफ्रिकी युनियनको अध्यक्ष मुलुक कङ्गोले आयोजना गरेको तीन देशबीचको वार्ता सहमतिमा पुग्न सकेको थिएन । इथियोपियाले निर्माण गरिरहेको बाँध र यसबाट सिर्जना हुने विशाल जलभण्डारको विवादले तीनै देशबीच तनाब सिर्जना गरेको छ ।  सन् २०११ मा निर्माण शुरु भएयता इजिप्टले यस बाँधका कारण आफ्नो देशमा पानीको आपूर्तिको अस्तित्वमाथि नै चुनौती सिर्जना हुने बताउँदै आएको छ । इथियोपियाले निर्माण गर्ने बाँधले सिर्जना गर्ने जलभण्डार आफ्ना लागि खतरा हुने सुडानको भनाइ छ ।  सुडानको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री अब्दल्ला हमडकले आफ्ना समकक्षी इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबौली र इथियोपियाका प्रधानमन्त्री अबिय अहमदलाई १० दिनभित्र शिखर बैठकका लागि आमन्त्रण गरेको उल्लेख छ ।  सुडानी प्रधानमन्त्री हमडकले बाँधको निर्माण निरन्तर भइरहेको र बाँधले पूर्णता पाउनुअघि निश्चित विषयमा सहमति र सम्झौता हुनुपर्नेमा जोड दिएका छन् । प्रस्तावित शिखर बैठक भिडियो कन्फरेन्सका माध्यमबाट हुने उल्लेख छ । गत साता इथियोपियाले बाँधसम्बन्धी विस्तृत विवरण इजिप्ट र सुडानलाई उपलब्ध गराउने प्रस्ताव गरेको थियो तर उक्त प्रस्तावलाई इजिप्ट र सुडानले अस्वीकार गरिदिएका थिए ।  इथियोपियाले नाइल नदीमा निर्माण हुने विशाल जलविद्युत आफ्नो देशको विकासका लागि अतिआवश्यक रहेको बताउँदै आएको छ । इजिप्ट र सुडानले बाँध पूर्णकार्यान्वयनमा आउनुअघि त्रिपक्षीय सम्झौता हुनुपर्ने माग गर्दै आएका छन् ।–एएफपी
 

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार