अफगानिस्तानबाट सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने बाइडनको तयारी

बुधबार, वैशाख १, २०७८

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धग्रस्त मुलुक अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गरेको अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकी इतिहासमै अमेरिकी फौज कुनै मुलुकमा झण्डै २० वर्ष लडेको यो पहिलो घटना हो । कतिपयले अमेरिकी सेनाको अफगानिस्तानबाट फिर्ती भएसँगै तालिबानको विजयका रुपमा लिएका छन् । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिवानी समूहसँग गरेको सम्झौता पश्चात् अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुन लागका हुन् । झण्डै १२ हजार सैनिकमध्ये हाल अफगानिस्तानमा करिब दुई हजार ५०० जना मात्र रहेका छन् । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि अमेरिकी सेनाको फिर्ती के हुने भन्नेमा अन्यौल भएपछि पाँच महिनायता अमेरिकी सेना फिर्ता हुनेक्रम रोकिएको छ । 
झण्डै ४० वर्षदेखि युद्धमा रहेको अफगानिस्तानमा शान्ति ल्याउने प्रयास स्वरुप टर्कीले सर्वपक्षीय अन्तरराष्ट्रिय शान्ति सम्मेलन गर्ने घोषणा लगत्तै सेना फिर्तीबारे अमेरिकी अधिकारीको यस्तो भनाइ सार्वजनिक भएको हो । यद्यपी तालिबान समूहले उक्त सम्मेलन बहिस्कार गर्ने बताएका छन् । अफगानिस्तानबाट अमेरिकी फिर्तीको घोषणा भने राष्ट्रपति बाइडनले बुधबार गर्नेछन् । यद्यपि अमेरिकाले अल–कायदा वा इस्लामिक स्टेट अतिवादी समूहसमेतका कतिपय परिस्थितिको सामना गर्न सानो संख्यामा सेना राख्ने बारेमा केही समयदेखि विचारविमर्श गरिरहेको थियो । राष्ट्रपति बाइडनले अन्य विकल्पमाथि छलफल गरे पनि अन्ततः सम्पूर्ण सैनिक फिर्ता गर्ने निष्कर्षमा पुग्नुभएको एक जना वरिष्ठ अमेरिकी अधिकारीले बताए । 
आफ्नो नाम नबताउने शर्तमा ती अधिकारीले पत्रकारसँग कुरा गर्दै शर्तसहित अमेरिकी सेना तैनाथ रहने भन्नुको अर्थ अफगानिस्तानमा अमेरिकी सेना अनन्तकाल रहने भन्ने देखिएकाले राष्ट्रपति बाइडनले हाल सम्पूर्ण सेना फिर्ता गर्नु उपयुक्त हुने निष्कर्षमा पुगेका हुन् ।    
ट्रम्प प्रशासनले फेब्रुअरी २०२० मा तालिबानसँग गरेको सम्झौतामा सम्पूर्ण अमेरिकी फौज मे २०२१ भित्र स्वदेश फर्कने उल्लेख छ । तर यसको बदलामा तालिबानले अल–कायदा र अन्य विदेशी आतङ्कवादी समूहलाई समर्थन गर्न नहुने रहेको छ । सन् २००१ मा अमेरिकी सेना अफगानिस्तानमा प्रवेश गर्नुको मुख्य कारण पनि अल–कायदालाई तालिबानको समर्थन प्रमुख विषय थियो ।
अधिकारीले सेना फिर्तीको कार्यक्रम आगामी मे महिनाबाट शुरु हुने जानकारी दिएका छन् । अफगानिस्तान छाड्न लागेका गठबन्धन मुलुकका सेनामाथि लक्ष गरी आक्रमण नगर्न पनि ती अधिकारीले चेतावनी दिएका छन् । 

विश्वस्त तालिबान
विदेशी सेनाले अफगानिस्तान छाडे पनि लडाइँ जारी रहने सम्भावना छ । राष्ट्रिय गुप्तचर निकायका प्रमुखले मङ्गलबार सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनमा तालिबान समूह आफूले सैन्य विजय हासिल गर्नेमा विश्वस्त देखिएको उल्लेख छ ।  धेरै वटा शहरमा नियन्त्रण कायम गरिरहेका अफगानी सेनाले आफूले पुनःकब्जामा लिएका नयाँ क्षेत्र वा सन् २०२० मा छाडेका क्षेत्रलाई आफ्नो नियन्त्रणमा राखिरहन सङ्घर्ष गर्नु परेको प्रतिवेदनमा छ ।  अफगानी नागरिकले युद्धबाट ठूलै क्षति व्यहोर्नु परेको छ र खासगरी अफगान महिलामा तालिबानको सक्रियता र उदयले थप त्रास उत्पन्न गराएको छ । सुन्नी इस्लामको बहुसंख्या रहेको तालिबान समूहले सन् १९९६–२००१ मा आफू सत्तामा रहँदा महिलालाई विद्यालय, कार्यालय, सङ्गीत र दैनिक जीवनका धेरै काममा निषेष गरेका थिए । दुई दशकपछि स्कुले विद्यार्थीमध्ये हाल झण्डै ४० प्रतिशत छात्रा छन् । संयुक्तराज्य अमेरिकाले महिला अधिकार र बालिका शिक्षालाई प्रबद्र्धन गर्न गैरसैनिक साधनको प्रयोगलाई बढावा दिने नीति लिने अमेरिकी अधिकारीको भनाइ छ । तालिबान र अफगान सरकारबीच भइरहेका वार्तामा महिलाको सहभागितालाई लगभग निषेध गरिएको छ । महिला अधिकारवादीले अफगानी नेताहरुको यस्तो रबैयाले निकै सङ्घर्षका साथ प्राप्त अधिकार कुण्ठित हुने खतरा औंल्याएका छन् । तालिबान समूहलाई परास्त गर्न भन्दै एक दशकअघि अफगानिस्तानमा अमेरिकी सेनाको संख्या एक लाखको हाराहारीमा थियो । तर पूर्वराष्ट्रपति ट्रम्पको कार्यकालमा यो संख्या दुई हजार ५०० मा आइपुगेको छ ।– एएफपी
 

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १७:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार