सप्तकोसी नदीको बहावप्रति चिन्ता व्यक्त 

बुधबार, साउन १८, २०७९

विराटनगर, ।  सप्तकोसी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानव बस्तीतर्फ प्रवेश गरेकामा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गरेका  छन्  ।    मुख्यमन्त्री राईले आज एक प्रेस नोट जारी गर्दै नदीको बहाव पश्चिमतर्फ बढ्दा प्रदेश नं १ को सुनसरी बराहक्षेत्र नगरपालिका र उदयपुर बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकामा आफू चिन्तित भएको उल्लेख गरेका  छन्  ।  मुख्यमन्त्री राईले नदी तटीय क्षेत्रका बासिन्दालाई जोखिमपूर्ण स्थान छाडेर जतिसक्दो सुरक्षित स्थानमा जान आह्वान गरेका  छन्  । उनले नदीको बहाव बस्तीतर्फ प्रवेश गर्दा हुनसक्ने क्षतिप्रति सचेत रहन र राहत एवं उद्धार कार्यमा जुट्न स्थानीय प्रशासन, स्थानीय तह र जनप्रतिनिधि, सुरक्षाकर्मी, रेडक्रस लगायतका निकायलाई निर्देशन गरेका  छन्  ।

 तुरुन्त राहत दिनुपर्ने अवस्थाका लागि विभित्र सामाजिक सङ्घसंस्था सक्रिय हुने अपेक्षासहित मुख्यमन्त्री राईले यथेष्ट राहत र उद्धारका लागि प्रदेश नं १ सरकार प्रतिबद्ध रहेको बताएका  छन्  । मुख्यमन्त्री राई अहिले कोभिड सङक्रमित भई स्वास्थ्यलाभ गरिरहेका  छन्  ।   विसं २०६५ भदौ महिनाको पहिलो साता सप्तकोसी नदीमा आएको बाढी र कटानले तत्कालीन सुनसरीको पश्चिम कुसहा बाँध भत्किएपछि सुनसरीको मधुवन, लौकही, पश्चिम कुसहा, हरिपुर, श्रीपुरलगायत र भारततर्फ निकै ठूलो क्षति भएको थियो । बाँध भत्किन नदिन तत्काल सो क्षेत्रमा युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता देखिन्छ ।  रासस    
 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार