सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, । गृहमन्त्री बालकृष्ण खाणले आज बिहान खोटाङमा गएको ६ रेक्टर स्केलको भूकम्प, त्यसबाट भएको क्षति र सरकारले गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन् । गृहमन्त्री खाणले खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी र सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कमल गिरीलाई टेलिफोन गरी भूकम्पको क्षति र गर्नुपर्ने उद्धारबारे जानकारी लिएका हुन् । उनले प्रभावित भएका भए उचित व्यवस्थापन गर्न तथा जिल्ला र प्रदेशको स्रोतसाधनले नपुगेमा केन्द्रमा जानकारी गराउन निर्देशन दिएका छन् ।
खोटाङका प्रमुख जिल्ला अधिकारी सेढाईंका अनुसार जिल्लाको मार्तिमविर्ता केन्द्र बनाएर भूकम्प गएको थियो । भूकम्पबाट साकेला गाउँपालिका–५ वृष्टिका विकास कटुवालको ढुङ्गाको घर, डाडागाउँका प्रकाश प्रधान, हलेसी तुवाचुङ।नगरपालिका–९ सल्लेका ध्रुव पौडेल र सोही नगरपालिका–७ का सयङ्खुका गङ्गा राईको घरमा क्षति पुगेको छ । गृहमन्त्रालयका अनुसार अहिलेसम्म क्षतिको पूर्ण विवरण आएको छैन । सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको प्रजिअ सेढाईंले जानकारी दिएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।
भूकम्पबाट भोजपुरमा घर भत्कियो भूकम्पबाट भोजपुरमा एउटा घर भत्किएको छ । खोटाङ केन्द्र विन्दु भएर आज बिहान गएको भूकम्पबाट भोजपुर नगरपालिका–१२ टक्सारमा प्रमोद हलवाईको घर भत्किएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार २०७२ सालमा गएको भूकम्पबाट चर्किएको सो घर जीर्ण बनेको थियो । यो बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।