गल्ती दोहोर्‍याउने छुट कसैलाई छैन : एमाले अध्यक्ष ओली

बिहीबार, साउन १२, २०७९

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराएको छ । उनले आज दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सो प्रवृत्ति दोहोर्‍याउनु बेठीक हुने उनले बताए । 

उहाँले सङ्घीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई दोहोर्‍याएर गल्ती गर्ने छुट अब नभएको बताए । उनले ठट्टा गर्दै भने, “२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उनले जिताएर पठाएको मान्छे आज कहाँ छ ?” तत्कालीन समयमा आफूलाई हराएको एक वर्ष नबित्दै क्षेत्र नं ७ का बासिन्दाले पछुतो मान्नु परेको स्मरण गराउँदै उनले गल्तीलाई फेरि दोहोरिन नदिन आग्रह गरे।

उनले स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाले हार्नुको कारणबारे पनि कार्यकर्तालाई प्रश्न गरेका थिए । अध्यक्ष ओलीले दलको झण्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको भन्दै आक्रोश व्यक्त गरे । उनले कार्यक्रममा पार्टीको सिद्धान्त तथा नीति सबैले बुझ्नु पर्ने र दोहोर्‍याएर गल्ती गर्ने काममा नलाग्न सबै कार्यकर्तालाई निर्देशन दिए।

आजै अध्यक्ष ओलीले कमल र गौरीगञ्ज गाउँपालिका तथा गौरादह नगरपालिकाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष दीपक कार्कीले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार