श्रीलंकाली जेलमा कोभिड फैलिएपछि दंगा हुँदा ६ जनाको मृत्यु

सोमबार, मंसिर १५, २०७७

कोलम्बो । श्रीलंकाको एउटा कारागारमा दंगा हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । माहारा कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए । बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भिडन्त हुँदा ६ जनाको मृत्यु हुनुका साथै ५२ जना घाइते भएको अधिकारीले जानकारी दिएका छन् । श्रीलंकाका जेलहरूमा अहिलेसम्म झन्डै १ हजार जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

के भएको थियो ?
प्रहरी प्रवक्ता अजित रोहनाका अनुसार जेलमा सुरक्षाकर्मीहरूले ‘उच्छृंखल अवस्था नियन्त्रणमा लिन बल प्रयोग गरेको’ बताए । सञ्चारमाध्यमहरूका अनुसार दंगा फैलिएपछि सुरक्षाकर्मीहरूले गोली हानेका थिए । कारागार परिसरमा ‘ठूलो आगलागी’ भएको देखिएको स्थानीयवासीलाई उद्धृत गर्दै समाचार प्रकाशित भएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता रोहनाले बताए ।
उनका अनुसार कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको छ । प्रहरीका पाँचवटा टोलीलाई पनि परिचालन गरिएको छ ।

अरू जेलको अवस्था के छ ?
श्रीलंकाका जेलमा कोभिड–१९ फैलिरहेका बेला यो घटना भएको हो । राजधानी कोलम्बोस्थित बन्दीहरूले वेलिकाडा जेलको छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका छन् । बन्दीहरूले आगुनाकोलापालास्सा जेलमा आठ दिनदेखि प्रदर्शन गरिरहेका छन् । आफूलाई राखिएको उक्त कारागार नराम्रो अवस्थामा भएको उनीहरूको दाबी छ । मानवाधिकारवादी समूहहरूका अनुसार श्रीलंकामा १० हजार बन्दी राख्ने क्षमता भएका जेलहरूमा २६ हजार जनालाई राखिएको छ । गत महिना श्रीलंकामा एउटा गार्मेन्ट उद्योग र एउटा माछा बजारबाट कोरोनाभाइरस संक्रमण फैलिएको पुष्टि भएको थियो । जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्यांकले श्रीलंकामा २३ हजार ४८४ जनामा कोभिड–१९ देखिएको र ११६ जनाको मृत्यु भएको देखाउँछ । –बीबीसी 
 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १४:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार