आफ्नो नियमन क्षेत्र भित्रका सहकारीहरूलाई विवरण बुझाउन गोदावरी नगरपालिकाको निर्देशन

बिहीबार, साउन १२, २०७९

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले आफ्नो नियमन क्षेत्राधिकार भित्र पर्ने सहकारी संस्थाहरूलाई नगरपालिकालाई विवरण बुझाउन निर्देशन दिएको छ । ‘नियमित रूपमा क्रियाशील रहेता पनि नगर कार्यापालिकाको कार्यालयमा बुझाउनु पर्ने विवरणहरू जस्तैः कारोबारको चौमासिक तथा वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, साधारणसभाको बैठक सम्बन्धी जानकारी, शेयर सदस्य संख्या तथा शेयर पूँजी लगायतका आवश्यक विवरणहरू बुझाउने गरेको नपाईएकोले सहकारी संचालनको लागि सहकारी ऐन, नियम, निर्देशन, परिपत्र बमोजिम नियामक निकायमा बुझाउनु पर्ने विवरणहरु आगामी २०७९ साउन महिना भित्र’, बुझाउन निर्देशन दिएको हो । 

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालाले साउन १० गतेको मितिमा जारी गरेको निर्देशनमा सहकारी संस्थाहरूलाई सहकारी नियमहरू पनि कडाइका साथ पालना गर्न पनि आह्वान गरेको छ । नियमहरूलाई पालना नगर्ने सहकारीलाई कानुनी कारवाही अगाडि बढाइने पनि प्रमुख प्रशासकीय अधिकारीले जारी गरेका प्रेस विज्ञप्तिमा उल्लेख छ । 

Godawari1659001859.jpg

नगरपालिकाले जारी गरेको निर्देशनमा कर्जा लगानीमा लिने व्याजदर बढीमा १६ प्रतिशत हुनुपर्ने, बचत तथा ऋणको व्याजदर बीचको अन्तर ६ प्रतिशत भन्दा बढी हुन नहुने,  ऋण लगानी गर्दा लिने सेवा शुल्क १ प्रतिशत भन्दा बढी हुन नहुने तर लघुवित्तको हकमा भने १.५ प्रतिशत सम्म लिन पाइने,  ऋणमा लाग्ने व्याजलाई मूल कर्जामा पूजीकृत गरी सो को आधारमा व्याज लगाउन नपाइने, वार्षिक २ करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने संस्थाको सञ्चालक सोही संस्थाको कर्मचारीको रुपमा काम गर्न नपाइने, व्यवस्थापकस्तरको कार्यान्वयन अधिकारी (कम्प्लायन्स अफिसर) नियुक्ति गर्ने, सीमा कारोबार र शंकास्पद कारोबारको जानकारी वित्तिय जानकारी इकाईमा पठाउने तथा सदस्य तथा सदस्य हुन इच्छुक व्यक्तिको पहिचान तथा सम्पुष्टि (केवाईसी) अनिवार्य भर्नुपर्ने उल्लेख छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार