राससका प्रधानसम्पादक पाठकलाई ‘ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार’

शनिबार, साउन ७, २०७९

काठमाडौँ, । नागरिक सञ्चार प्रालिद्वारा स्थापित ‘ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार–२०७९’ बाट राष्ट्रिय समाचार समिति राससका प्रधानसम्पादक एकराज पाठक सम्मानित भएका छन्  । शनिबार काठमाडौँमा आयोजित ‘नयाँ विश्व’ अनलाइन पत्रिकाको पाँचौँ वार्षिकोत्सव समारोहमा वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले उनलाई पुरस्कार समर्पण गरेका  हुन्  । पुरस्कारको राशि रु दश हजार छ ।  

    विसं २००८ मा प्रकाशित बागलुङको पहिलो हस्तलिखित पत्रिका ‘सही बाटो’का सम्पादक प्रकाशक ओमकार गौचनको नाममा स्थापित सो पुरस्कार पहिलोपटक राससकर्मी पाठकलाई प्रदान गरिएको प्रालिका सचिव मुकेशचन्द्र राजभण्डारीले जानकारी दिए  ।    दुई वर्षअघि दिवङ्गत भएका गौचन पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत थिए  । विसं २०४८ को संसदीय निर्वाचनमा गौचन नेपाली कांग्रेसका तर्फबाट बागलुङ–३ को सांसदमा निर्वाचित भएका थिए  । समाजसेवामा पनि उत्तिकै क्रियाशील उनले लुम्बिनी विकास कोषको उपाध्यक्षसमेत भएर काम गरेका  थिए  । 

    “पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप वरिष्ठ पत्रकार पाठकलाई सम्मानित गरिएको हो”, ‘नयाँ विश्व’का सम्पादकसमेत रहेका राजभण्डारीले भने  ।    विसं २०३१ मा बागलुङमा जन्मेका पाठक विगत २५ वर्षदेखि पत्रकारितामा क्रियाशील छन्  । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तथा  सोही विषय अध्यापनको अनुभवसमेत छ । पाठकका पत्रकारिता विषयका पुस्तक तथा प्राज्ञिक लेख÷रचना प्रकाशित छन् । 

    विसं २०५६ मा समाचारदाताका रुपमा राससमा सेवा आरम्भ गरेका  पाठक हाल प्रधानसम्पादकको जिम्मेवारीमा छन्  । सोही समारोहमा चिकित्सक सागरकुमार राजभण्डारीलाई ‘नयाँ विश्व सम्मान–२०७९’ प्रदान गरिएको थियो । विसं २०१९ मा बागलुङमा जन्मनुभएका राजभण्डारी सरकारी सेवाबाट निवृत्त भई हाल भक्तपुरको सूर्यविनायक नगर अस्पतालमा कार्यकारी निर्देशकका रुपमा कार्यरत छन्  । उनले कोभिड–१९ को महाव्याधिका बेला पहिलोपटक सङ्क्रमितको उपचार सेवा सुरु गर्ने टेकु अस्पतालको कार्यकारी निर्देशक भएरसमेत काम गरेका  थिए  । नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउने पहिलो व्यक्ति पनि राजभण्डारी नै हुन्  ।    त्यसअघि उनले बागलुङस्थित धवलागिरि अस्पताल, पर्वत जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थामा प्रमुख चिकित्सकका रुपमा रही नेतृत्वदायी भूमिका निर्वाह गरेका  थिए  ।
 

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार