म्यान्मामा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

आइतबार, चैत २९, २०७७

म्यान्मा । म्यान्मामा शुक्रबार सुरक्षाकर्मीद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको हो । अनुगमनमा खटिएका अधिकारकर्मीले सुरक्षाकर्मीको आक्रमणमा परी ८२ जनाको मृत्यु भएको जानकारी दिएका छन् । मृतकको शव सेनाले लिएर गएकाले मृतकको सङ्ख्या अझ बढी हुन सक्ने पनि उनीहरुले बताएका छन् । प्रदर्शनकारी विरुद्ध सुरक्षाकर्मीले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । म्यान्मामा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दाबढी मानिसको मृत्यु भइसकेको छ । सत्तामा बसिरहनका लागि सेनाले दिनानुदिन हिंसाको सहायता लिएको देखिएको छ । सेनाले सत्ता हातमा लिएयता म्यानमारभरि विरोध प्रदर्शन हुँदै आएका छन् । हालै भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले फेरि चुनाव गर्ने बाहनामा सत्ता कब्जा गरेको हो । चुनावका लागि भन्दै सेनाले देशमा एक वर्षका लागि संकटकाल घोषणा पनि गरेको छ ।  राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यवेक्षक र निर्वाचन अधिकारीले भने निर्वाचन निश्पक्ष नै भएको दावी गरेका छन् । सेनाले नतिजा अस्विकार गरिरहेको बेला नयाँ संसद्को बैठक बस्न लागेकै दिन सेनाले सत्ता कब्जा गरिएको घोषणा गर्दै नेतालाई थुनामा राखेको हो ।  सेनाको कदमको विश्वभरीबाट विरोध भइरहेको छ भने शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिक निकासका लागि दबाब बढिरहेको छ ।–एएनआई
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार