सोसल मिडिया
Contact Us
युनिकोड
लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ । बेलायतको राजदरबार बकिङ्घमका प्रवक्ताले ९९ वर्षको उमेरमा निधन भएका फिलिपको अप्रिल १७ मा अन्त्येष्टि गर्ने निर्णय भएको शनिबार जानकारी दिएका छन् । गत शुक्रबार उनको निधन भएपनि संवैधानिक प्रक्रिया मार्फत अन्त्येष्टि गर्नुपर्ने भएकाले ढिला हुने भएको अधिकारीहरुले बताएका छन् । अप्रिल १७ तारिख दिउँसो ३ बजे विन्डसोरमा रहेको जर्ज गिर्जाघरमा फिलिपको अन्त्येष्टि सुरु गरिने तय भएको छ । कोरोनाभाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन नदिइने भएको छ भने अत्यावश्यक ठानिएका ३० जना व्यक्तिलाई मात्रै सहभागी गराइने भएको छ । उनको निधनमा देशभरी आठ दिन शोक मनाउने निर्णय भएको सरकारले जनाएको छ । शोक मनाउने समयमा देशभरी राष्ट्रिय झण्डा आधा झुकाइने छ भने राजदरबारमा पुरै झण्डा झुकाइने छ । उनको निधनपछि बेलायती पूर्वयुवराज ह्यारी पनि केही समयका लागि दरबार फर्किने छन् । राजपरिवारको सम्पूर्ण जिम्मेवारी त्यागेर अमेरिकामा बस्दै आएका ह्यारी श्रीमती मेघन बिना नै बेलायत आउन लागेका हुन् । मेघन गर्भवती भएकाले यात्रा नगर्न चिकित्सकले सुझाव दिएका थिए । फिलिपको सम्मानमा शनिबार देशभरी सलामी दिइएको थियो । उनलाई श्रद्धाञ्जलि दिन दरबारमा फूल नचढाउन पनि शाही अधिकारीले आग्रह गरेका छन् । उनको सम्झनामा सामाजिक कार्यमा योगदान गर्न शाही सदस्यले प्रोत्साहन गरेका छन् । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको हो । सन् १९४७ मा एलिजावेथसँग बिहे गरेका राजकुमार फिलिपले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन बिताए । उनीहरूको विवाह भएको पाँच वर्षपछि एलिजावेथ महारानी बनेकी हुन् । ‘द ड्यूक अफ एडिनबरा’को उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि निवासमा लगिएको थियो । राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनाति–पनातिनी छन् । राजकुमार फिलिप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१ जुन १० मा जन्मिएका हुन् । उनी हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा हुन् । विश्व समुदायले उनलाई लामो समय बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा कुशल नेतृत्व गरेको व्यक्तिका रुपमा स्मरण गरेका छन् ।
बेलायतकी महारानीसँग सात दशकभन्दा लामो वैवाहिक जीवनसँगै विताएका राजकुमार फिलिपले पछिल्ला केही वर्षयता उमेरका कारण राजपरिवार सदस्यका रूपमा औपचारिक जिम्मेवारीलाई हेर्न छाडेका थिए । उनले रोयल नेभी र बेलायतको इतिहासमा नै लामो समय दशकौँसम्म राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेकी महारानीका एलिजावेथ द्वितीयको पतिका रूपमा विश्वभरबाट माया पाए । महारानीका पतिको रूपमा उनलाई कुनै पनि संवैधानिक हैसियत त थिएन । तर राजसंस्थाको नजिक उनीभन्दा धेरै अरू कोही थिएन । लन्डनस्थित वेस्टमिन्स्टर एबीमा सन् १९४७ नोभेम्बर २० का दिन उनीहरूको विवाह भएको थियो । यसलाई बेलायती पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलले युद्धपछिको कठिन समयमा बेलायतमा देखिएको एउटा रङ्गीन चमकको रूपमा उल्लेख गरेका थियो । सन् १९५२ को फेब्रुअरीमा फिलिप र एलिजाबेथ केन्या भ्रमणमा रहेको बेला बेलायतका राजा जर्ज छैटौँको निधन भएको थियो । त्यसपछि बेलायतकी महारानी बनेकी आफ्नी पत्नी एलिजावेथलाई राजकुमार फिलिपको जीवनपर्यन्त दरिलो साथ रहेको थियो । बेलायतकी महारानीका रूपमा आफ्नो राज्याभिषेकलगत्तै महारानी एलिजावेथद्वारा जारी गरिएको घोषणामा उनलाई रानीपछिको दोस्रो हैसियत प्रदान गरिएको थियोे । उनको विशेष रुचि युवाको कल्याण तथा वन्यजन्तु र प्रकृति संरक्षणमा रहेको थियो । फिलिपलाई प्रतिबद्ध र आत्मनिर्भर व्यक्तिका रूपमा हेरिन्थ्यो ।–एएनआई