सोसल मिडिया
Contact Us
युनिकोड
दुबई । संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्षयात्रीको नाम शनिबार घोषणा गरेको छ । दुई यात्री मध्ये एक महिलाको नाम पनि समावेश छ । दुबइका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटरमार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका हुन् । घोषणा गरिएका नाममा नोउरा अल–माट्रोसी महिला तथा मोहम्मद अल–मुल्ला पुरुष छन् । सन् १९९३ मा जन्मिएकी अल–माट्रोसी अबुधाबीस्थित नेसनल पेट्रोलियम कन्स्ट्रक्सन कम्पनीमा इञ्जिनियर पदमा कार्यरत छिन् । युएइका चार हजारभन्दा बढी आवेदकबाट दुई जना छनौट गरिएको अधिकारीले बताएका छन् । उनीहरु दुबैलाई अमेरिकाको टेक्सासस्थित नासाको जोन्सन स्पेस सेन्टरमा तालिम लिन पठाइने छ । यदि अल¬–माट्रोसी अन्तरिक्ष अभियानमा सफल भएमा उनी अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला हुनेछिन् । यसअघि इरानी–अमेरिकी महिला अनुशेह रैसायानले झण्डै दुई करोड डलर तिरेर पर्यटकको रुपमा सन् २००६ मा अन्तरिक्ष यात्रा गरेकी थिइन् । अन्तरिक्ष यात्रा गर्ने पहिलो अरब मुस्लिमको रेकर्ड भने साउदी अरबका राजकुमार सुल्तान बिन सल्मानले बनाएका छन् । उनलेसन् १९८५ मा डिस्कभरी यानबाट अन्तरिक्ष यात्रा गरेका थिए । सन् २०१९ मा युएइका मेजर हज्जा अल–मन्सूरीले पहिलो पटक अन्तरिक्ष यात्रा गरेका थिए । उनी अन्तरिक्ष केन्द्रमा आठ दिन बसेका थिए ।–एपी