माओवादी केन्द्रद्वारा प्रदेश २ मा चारजना सांसद निष्कासनका लागि प्रक्रिया सुरु  

स्पष्टीकरण चित्त बुझ्ने नआए निष्कासन गरिने 
आइतबार, चैत २९, २०७७

धनुषा । ओली समूहमा लागेका प्रदेश २ का आफ्ना चार जना सांसद्लाई हटाउन नेकपा माओवादी केन्द्रले प्रक्रिया सुरु गरेको छ । रामचन्द्र मण्डलसहित कुन्दन साह, ज्वाला साह र मो.समीर अन्सारीमाथि कारवाही गर्न स्पष्टीकरण सोधिएको छ । यी चारै जना नेता नेकपा एमालेमा गएका छन् ।  रामचन्द्र मण्डलसहित चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पेरिसडाँडा बैठकले गरेको प्रमुख सचेतक दिलीप साहसाहले जानकारी दिए ।  चार जनाले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभए प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारी पार्टीले गरेको सचेतक साहले जानकारी दिए ।  प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् ।  यसैबीच प्रदेश २ मा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेको छ ।  पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो । यस्तै उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र सचेतकमा रुवि कर्ण चयन भएका छन् । नेकपा एमालेसँग एकीकरण हुनुपूर्व माओवादीको दलको नेतामा रामचन्द्र मण्डल चयन भएका थिए । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मण्डल प्रधानमन्त्री ओलीको खेमामा लागेका छन् ।  अहिले भरत साहलाई दलका नेताका रुपमा चयन गरिएको छ । 

प्रदेशसभा बैठक भोलि बस्दै
प्रदेश २ मा करीब छ महिनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको हो । चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो । संसद् बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइए पनि सदस्यको टुङ्गो लाग्न नसक्दा बैठक बस्न नसकेको प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए ।  नेकपा पार्टी विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको हो ।  पाँचौँ अधिवेशनको पहिलो बैठकमा शुभकामना दिने कार्यसूची तय छ । अन्य विषयमा दलसँग छलफल भइरहेको यादवले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार