सोसल मिडिया
Contact Us
युनिकोड
काबुल । अफगानिस्तानको एउटा सैन्य शिविरमा गराइएको एउटा कार बम आक्रमणमा कम्तीमा ३० जना सुरक्षाकर्मीको मृत्यु भएको छ । यो घटना देशको पूर्वमा पर्ने गजनी प्रान्तमा भएको हो । विस्फोटनमा २० जनाभन्दा बढी घाइते भएको जनाइएको छ । आइतबारको अफगान सुरक्षाकर्मीमाथि पछिल्ला केही महिनायता गरिएका निकै घातकमध्येको एउटा आक्रमण हो । अफगानिस्तानकै जाबुलमा सवारीसाधनमाथि गरिएको एउटा छुट्टै बम हमलामा तीन जनाको ज्यान भएको छ । प्रान्तीय परिषद्का प्रमुखलाई आक्रमणको निसाना बनाइएको थियो । घटनामा उनी जोगिन सफल भएका छन् । कतारको दोहामा अफगान सरकार र तालिबान लडाकु समूह बीचको शान्ति वार्तामा प्रगति हासिल गर्ने प्रयास हुँदाहुँदै अफगानिस्तानमा पछिल्लो समय हिंसा बढेको देखिएको छ । आइतवार नै अफगान राष्ट्रपति अशरफ घानीले सरकारका तर्फबाट तालिबानसँग वार्ताका लागि जिम्मेवार निकायका प्रमुख डा. अब्दुल्लाह अब्दुल्लाहसँग छलफल गरेका छन् । वार्तामा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा उनीहरूबीच कुराकानी भएको हो । छलफलमा पूर्वराष्ट्रपति हमिद करजाई पनि सहभागी थिए । सेप्टेम्बरमा औपचारिक रूपमा वार्ता आरम्भ भए पनि शान्तिवार्ताको ढाँचाबारे सहमतिमा पुग्न दुई पक्ष असफल भएका छन् । करिब दुई साताअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने घोषणा गरेका थिए । त्यसपछि अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तान र इराकमा रहेका आफ्ना सेनाको संख्या २,५०० मा सीमित तुल्याइने बताएको थियो । तर त्यो योजनालाई लिएर ट्रम्पकै दलका नेताहरूले सचेत गराइसकेका छन् । ट्रम्पले भने अमेरिकी सैन्य हस्तक्षेप खर्चिलो र प्रभावहीन भएको बताउँदै आएका छन् ।–बीबीसी