प्रेस युनियनको महाधिवेशनको तयारी अन्तिम चरणमा

प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने
सोमबार, साउन २, २०७९

मकवानपुर । नेपाल प्रेस युनियनको यही साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने नवौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशन कार्यक्रमलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको स्थानीय समन्वय समितिका सहसंयोजक गिरिजाप्रसाद अधिकारीले जानकारी दिए ।

उनले युनियनको महाधिवेशनका लागि आवास, भोजन, अधिवेशनस्थल व्यवस्थापनलगायतका तयारी पूरा भइसकेको र स्वागत गेट निर्माण, निमन्त्रणा कार्ड, ब्यानर बनाउनेलगायतका कार्य पनि तीव्रताका साथ भइरहेको जानकारी दिए । 
आवासका लागि हेटौँडा, मकवानपुरगढी, अम्लेखगञ्ज र सौराहाका होटल बुकिङ गरिएको तथा महाधिवेशनस्थल नजिकै भोजनको व्यवस्थापन मिलाइएको उनले जानकारी दिए । महाधिवेशनमा देशभरका करिब एक हजार ६०० प्रेस युनियनका प्रतिनिधि र अतिथिको सहभागिता रहने उनले बताए।

साउन ६ गते उद्घाटन हुने महाधिवेशनले युनियनको नयाँ कार्यसमितिसमेत निर्वाचित गर्ने जनाइएको छ । महाधिवेशन सम्पन्न गर्नका लागि युनियनले केन्द्रीय सदस्य एवं बागमती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समन्वय समिति गठन गरेको थियो । त्यसको सहसंयोजकमा केन्द्रीय सदस्य अधिकारी रहेको छ । आवास व्यवस्थापन समिति संयोजकको जिम्मेवारीमा रुपेश दुलाल, भोजन व्यवस्थापनमा सुजन विडारी, पोष्टराज अधिकारीको संयोजकत्वमा सचिवालय व्यवस्थापन र प्रचारप्रसार केशव समपर्णको नेतृत्वमा भइरहेको जनाइएको छ ।

महाधिवेशन सम्पन्न गर्नका लागि युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । स्वागत सत्कार समिति संयोजकमा उपाध्यक्ष ईश्वरी ओझा, विधान मस्यौदा संशोधन समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष दीपक आचार्य रहेको छ भने कार्यवाहक महासचिव भीष्मराज ओझाले प्रतिनिधि व्यवस्थापनको काम गरिरहेका छन्। कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति र तेज रावलको अध्यक्षमा निर्वाचन समिति गठन गरी तीव्रताका साथ महाधिवेशन लक्षित कार्य भइरहेको कार्यबाहक महासचिव ओझाले बताए।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार