ओली सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र विवाद छैन : प्रवक्ता शर्मा

शनिबार, चैत २८, २०७७

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र कुनै विवाद नभएको बताएका छन् ।  नेपाली कांग्रेस तथा नेविसंघ लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने, ‘कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत रहेको छ । कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ ।’  कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माले नेपाली कांग्रेस राजनीति दल मात्र नभएर समाजको प्रतिनिधित्व भएको बताउँदै कांग्रेसले मात्र मुलुकलाई सही बाटोमा लैजाने दाबी गरे ।  कांग्रेसको छवि बदलेर संगठनात्मक स्वरुप बदल्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ ।  उनले कांग्रेसभित्र सबैले आफ्नो जिम्मेवारीलाई सही ढङ्गले निभाउन सकेमात्र कांग्रेस रुपान्तरण हुने उल्लेख गरे ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कांग्रेसलाई मजबुद र एकताबद्ध बनाए मात्र आगामी निर्वाचनमा जीत हासिल गर्न सकिने विश्वास व्यक्त गरे ।  विगतका अनुभवलाई विचार गरेर नयाँ पिंढीलाई कांग्रेसबारे प्रशिक्षण गर्नुपर्ने उनको भनाइ थियो ।  कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र देखिएको गुट, उपगुटलाई अन्त्य गरेमात्र कांग्रेस बलियो हुने औंल्याए । पूर्वसहायकमन्त्री डा.रामचन्द्र अधिकारीले कांग्रेसभित्र साझा नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।  सम्पर्क समितिका अध्यक्ष प्रदीप अधिकारीले लमजुङमा कांग्रेसको संगठन बलियो बनाउन एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताए ।
 

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार