संसारमै सबैभन्दा धेरै खोप उत्पादन गर्ने भारतमै खोप अभाव  

शुक्रबार, चैत २७, २०७७

नयाँदिल्ली । दुई दिनदेखि भारतको उत्तर प्रदेशका सञ्जय कुमारले आफू र आफ्नी आमालाई कोरोनाभाइरस खोप लगाउन खोजिरहेका थिए । दिल्लीको बाहिरी भागमा पर्ने गाजियावादमा बस्ने समाजशास्त्री डा. कुमारले सुनाए, ‘मैले आसपासका तीनवटा निजी अस्पतालमा फोन गरेँ र ती सबैले खोपका मात्रा सकिएको बताए ।’ तीमध्ये एउटा ५० शय्याको अस्पताल हो । त्यहाँकी एक जनसम्पर्क अधिकृतले भने, ‘हामीसँग मौज्दात खोप सकिएको छ । हामीले यतिखेर मानिसहरूको नाम दर्ता समेत गरिरहेका छैनौं । किनकि खोप लिन आउनेहरू हामीले त्यो छैन भन्दा झैझगडा गर्न थालेका छन् ।’ कुमारले नाम दर्ता गर्ने असफल प्रयास गरेको अर्काे एउटा अस्पतालमा बुधबार साँझबाट खोप सकिएको थियो । र त्यहाँका कर्मचारीहरूले मानिसहरूलाई फिर्ता पठाउनुको विकल्प नभएको बताइरहेका थिए । भारतले कोभिड–१९ को दोस्रो घातक सङ्क्रमण झेलिरहँदा एप्रिल १ यता दैनिक औसतमा ९० हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमण देखिन थालेका छन् । जसले भारतको खोप कार्यक्रममा समेत चुनौती थपिरहेको छ ।

खोपको अवस्था
केन्द्र सरकारले खोपको पर्याप्त मौज्दात रहेको बताइरहे तापनि आधा दर्जन जति राज्यबाट अभाव भएको विवरण आइरहेका छन् ।
पश्चिमी राज्य महाराष्ट्रमा भारतको कुल सङ्क्रमणको आधाजसो संख्या रहेको विवरण आइरहँदा खोप कार्यक्रम भने अनिश्चितकालका लागि रोकिए झैं भएको छ ।  स्थानीय सरकारले हाल रहेको उसको पन्ध्र लाख मात्राको मौज्दातले तीन दिन मात्र थेग्ने जनाएको छ । राज्यको राजधानी मुम्बई र अन्य केही जिल्लाका खोप केन्द्रहरू बन्द गरिएका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले भने, ‘तीन दिनभित्र खोप आएन भने हामीले बाध्य भएर खोप कार्यक्रम बन्द गर्नुपर्नेछ ।’ संघीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले खोप अभावको ‘आरोप’लाई ‘पूरै निराधार’ बताउँछन् । उनले राज्यहरूले खोपसम्बन्धी आफ्ना कमजोर प्रयासबाट ध्यान मोड्नका लागि ‘निरन्तर गोलपोस्ट सारिरहेको’ आरोप लगाए । खोप अभावको आरोप लगाइरहेका राज्यहरूले अहिलेसम्म आफ्ना अग्रमोर्चाका कर्मचारीहरूलाई समेत खोप दिन नसकिरहेको संघीय स्वास्थ्यमन्त्री वर्धनले बताए ।

कति सत्य ?
त्यो पूरै सत्य नहुन सक्छ । छिटोछरितो खोप लगाउने काम अघि बढाएका केही राज्यहरूमा खोप अभाव भएको कुरा सत्य भएको बताउँछन् दिल्लीस्थित एक थीङ्क–ट्याङ्क अभजर्भर रिसर्च फाउन्डेसनका ओमेन सी कुरिन । उनले मलाई त्यस्तो अभाव हुनु पछाडिको कारण पछिल्ला चार महिना जतिमा भारतका खोप कम्पनीहरूको उत्पादन क्षमता र उनीहरूले उत्पादन गरेका खोपको वास्तविक मात्रामा एकरूपता नहुनुु रहेको बताए । विश्वकै सबैभन्दा ठूलो भारतको खोप कार्यक्रम जनवरी १६ मा सुरु गरिँदा जुलाईभित्रमा २५ करोडलाई खोप दिइने लक्ष्य राखिएको थियो । सुरुमा स्वास्थ्यकर्मी र अग्रमोर्चाका कर्मचारीमा सीमित गरिएको खोप पछि क्रमशः ६० वर्षमाथि, रोग भएका ४५ देखि ५९ वर्षबीचका र ४५ वर्ष माथिका व्यक्तिमा केन्द्रित गरियो । अहिलेसम्म त्यहाँ स्वीकृति दिइएका कोभिशिद्यल्ड र कोभ्याक्सिनका नौ करोडभन्दा धेरै मात्रा खोप दिइएको छ । भारतमा दैनिक औसतमा ३० लाख मात्रा खोप दिइने गरेको छ । र भारतले अहिलेसम्म ८५ देशमा ६ करोड ४० लाख मात्रा खोप पठाइसकेको छ । ती कुनै ‘उपहार’ का रूपमा छन् भने कुनै खोप उत्पादकसँग गरिएका व्यावसायिक सम्झौताका आधारमा छन् । बाँकी केही विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम अन्तर्गत छन् ।

 

खोप उत्पादन ‘पावरहाउस’
खोप उत्पादनको सवालमा भारतलाई ‘पावरहाउस’ का रूपमा हेरिन्छ । त्यहाँ ठूला खोप कार्यक्रम सञ्चालन हुने मात्रै होइन विश्वको ६० प्रतिशत खोप उत्पादन हुन्छ । भारतमा छवटा खोप उत्पादक कम्पनीहरू छन् । तर कोभिड खोप कार्यक्रममा भने भारतले अनपेक्षित चुनौतीहरू सामना गरिरहेको छ । युवाहरू सहितलाई खोप कार्यक्रममा समेट्ने गरी के भारतसँग पर्याप्त मात्रामा खोप छ त भनेर यतिखेर धेरैमाझ प्रश्न उठेको छ । यतिखेर कतिपयले प्रश्न गरिरहेको अर्काे विषय भनेको धेरै चर्चा बटुलेको ‘खोप कूटनीति’को नाममा दशौँ लाख खोप विदेश पठाएर के भारतले ठिक काम ग¥यो त भन्ने समेत छ । अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेको खोपलाई भारतमा कोभिशिल्डका नाममा उत्पादन गरिरहेको सिरम इन्स्टिच्युटले यो साता आफ्नो उत्पादन क्षमता ‘निकै दबाव’ मा रहेको जनाएको थियो । उक्त कम्पनीका प्रमुख अदार पुनवालाले एक भारतीय टिभीमा अन्तर्वार्ता दिँदै भनेका थिए, ‘हामी अझै लगभग सबै भारतीयलाई पु¥याउन सक्छौँ ।’ यो वर्षको सुरुमा खोप उत्पादन थालेयता सिरमले हरेक महिना छदेखि सात करोड मात्रा खोप भारत सरकारलाई उपलब्ध गराइरहेको र उत्तिकै मात्रामा निर्यात गरिसकेको जनाएको छ । जनवरीमा उक्त कम्पनीले आफूले मासिक १० करोडका दरले उत्पादन बढाउने जनाएको थियो । तर यतिखेर जनवरीमा उत्पादन कम्पनीमा लागेको आगलागीका कारण जुन महिनाअघि त्यो लक्ष्यमा पुग्न कठिन हुने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  २२:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार