चीनका रक्षामन्त्री वेई काठमाडौंमा

आइतबार, मंसिर १४, २०७७

काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङहे आफ्नो एकदिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका छन् । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसर पारेर उनी नेपाल आएका हुन् । झन्डै एक वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो । 
चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ को अक्टोबर (१२–१३) मा नेपालको भ्रमण गरेयता कुनै पनि उच्च चिनियाँ अधिकारी नेपाल आएका थिएनन् । रक्षामन्त्री वेई राष्ट्रपति सीका नजिकका पात्र मानिन्छन् । वेई सुरुमा चिनियाँ राजदूतावासमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि करिब २ बजे उनी सैनिक मुख्यालय जंगी अड्डामा पुग्नेछन् जहाँ उनलाई नेपाली सेनाले ‘गार्ड अफ अनर’ले सम्मान गर्नेछ ।
त्यसपछि वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय भेटवार्ता गरेपछि वेई राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार