नेपाली क्यारिकेचर प्रदर्शनी सुरु 

सोमबार, असार २७, २०७९

काठमाडौं । तीन दिने ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी सुरु भएको छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको उक्त प्रदर्शनीमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर राखिएको छ ।  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनीको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरे । 

Nafama Caricature (13)1657517000.jpg
उद्घाटन समारोहमा बोल्दै कुलपति कर्माचार्यले नेपाली कलाक्षेत्रमा क्यारिकेचरको महत्व पछिल्लो समय बढ्दै गएको बताए । 
उनले कार्टुन, पत्रकारितासँगै कलामा समेत क्यारिकेचरको विशिष्ट महत्व रहेको जनाउँदै यसलाई अझै समृद्ध पार्नु पर्ने धारणा व्यक्त गरे । कुलपति कर्माचार्यले भने, ‘नेपालमा क्यारिकेचरको विकास र यसको उठान निकै प्रभावकारी ढंगले अघि बढिरहेको छ । 

Nafama Caricature (17)1657517035.jpg
विगतका वर्षमा जस्तै यो वर्ष निकै राम्रा क्यारिकेचर प्रदर्शनीमा राखिएको छ ।’ उनले कार्यशाला तथा प्रदर्शनीमार्फत नयाँ पुस्तालाई यस क्षेत्रमा जोड्नुपर्ने बताउँदै आगामी दिनमा अझै परिष्कृत र परिमार्जनसहित क्यारिकेचर बन्ने विश्वास आफूले लिएको सुनाए । 
कुलपति कर्माचार्यले यसको सशक्तिकरण, विकास तथा विस्तारका लागि प्रतिष्ठानले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Nafama Caricature (7)1657517078.jpg
प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले नेपालमा कार्टुनसँगै क्यारिकेचरको महत्व र आवश्यकता बढ्दै गइरहेको विचार व्यक्त गरे । 
उनले प्रतिष्ठानले कलाका विविध पक्ष र विधालाई समेट्दै गइरहेको बताउँदै कार्टुन र क्यारिकेचरका समेत विविध कार्यक्रम गरिरहेको बताए । 
उपकुलपति चित्रकारले भने, ‘नेपाली कलालाई आम मानिससम्म पु¥याउन हामी सबैले प्रयत्न गर्नुपर्छ । कलाले नै मानिसलाई समृद्ध र विशिष्ट बनाउने भएकाले यसको विकास र विस्तारमा समेत हामीले पहल लिनु पर्दछ । साथै समाजसँग सिधै संवाद गर्न सक्ने विधाको रुपमा कार्टुनलाई पनि लिइन्छ । यसलाई हामीले अझ कलात्मक ढंगले अगाडि बढाउनु पर्दछ । यो प्रदर्शनीले पक्कै त्यो दिशामा काम गर्नेछ भन्ने विश्वास लिएको छु ।’
कार्टुनिस्ट क्लब अफ नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले क्यारिकेचर प्रदर्शनीमार्फत समाजका विशिष्ट व्यक्तित्वलाई चिनाउन खोजिएको बताए । 
समाजमा योगदान दिएका व्यक्ति र उनीहरुको कर्मलाई सबैले आत्मबोध गर्न सकुन् भन्ने लक्ष्य राखेरै क्यारिकेचर बनाइएको जनाउँदै श्रेष्ठले क्यारिकेचर कार्यशाला तथा प्रदर्शनीको आयोजना गरेर आयोजकले सराहनीय काम गरेको भनाइ राखे । उनले भने, ‘नवपुस्ताले यस किसिमका कार्यशाला, प्रदर्शनी तथा कार्यक्रमबाट धेरै सिक्न सक्नु पर्दछ । कला अभ्याससँगै लामो अनुभवबाट पनि सिकिने विधा हो ।’

Nafama Caricature (6)1657517280.jpg
प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख प्राज्ञ रमेशनाथ खनालले कार्टुन–क्यारिकेचर कला विधामा महिला कलाकारलाई प्रश्रय दिने उद्देश्यले गत पुस २८–३० गतेसम्म महिला कलाकार सहभागी गराएर क्यारिकेचर कार्यशाला गरेको बताए । उनका अनुसार कार्यशालामा विभिन्न कलेजमा अध्ययन गरिरहेका २३ जना महिला कलाकारले भाग लिएका थिए ।

Nafama Caricature (12)1657517085.jpgखनालले कसैको मुहारलाई हुवहु उतारेर अतिरञ्जना गर्नु नै क्यारिकेचर भएको जनाउँदै यसमा हास्य र व्यंग्य हुनुपर्नेमा जोड दिए । उनले भने, ‘कार्टुन कलाभित्र तिखो व्यंग्य हुन्छ । समाजमा घटित अनेकौं घटनालाई सटिक तवरले व्यंग्य गरेर सचेत गराउन कार्टुन बनाइन्छ । कतिलाई तिखो प्रहार पच्दैन, कतिले सहज ढङ्गबाट लिन्छन् । तर क्यारिकेचर, कार्टुनभन्दा फरक छ । यो चाहि राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशमा ख्यातिप्राप्त व्यक्तित्वलाई छुट्टै विधाबाट चिनाउन मुहारमाथि अतिरञ्जना गर्दै क्यारिकेचर बनाइन्छ ।’
क्लबका अध्यक्ष वासु क्षितिजले पत्रकारिता र कलाकारितामा क्यारिकेचरको महत्व विशिष्ट रहेको धारणा व्यक्त गरे । उनले भने, ‘क्यारिकेचर अर्थात् ‘अनुहारको व्यंग्यात्मक हाउभाउ’ व्यंग्यचित्रको अर्को पाटो हो । रङ र रेखाद्वारा व्यक्तिको भावसहितको बढाइचढाइ अर्थात् अतिरञ्जना गरिएको चित्रको रुपमा समेत क्यारिकेचरलाई बुझ्ने गरिन्छ ।’
क्षितिजले यस पटक क्लब र प्रतिष्ठानले विगतमा जस्तै संयुक्त रुपमा ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनीको आयोजना गरेको जनाए । उनले भने, ‘प्रतिष्ठान र क्लबले क्यारिकेचर विधामा महिला कलाकारलाई अभिप्रेरित गर्ने लक्ष्य राखेर गएको पुस २८–३० गतेसम्म महिला कलाकारको क्यारिकेचर कार्यशाला गरेको थियो । सो कार्यशालामा सहभागी महिला कलाकारले भाग लिएका थिए । त्यसबाट पनि यस प्रदर्शनीका लागि क्यारिकेचर छनोट गरी प्रदर्शनीमा समावेश गरिएको छ ।’
क्लबका अध्यक्ष क्षितिजले प्रदर्शनीमा नेपालको सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने विभिन्न व्यक्तित्वका क्यारिकेचर राखिएको बताए । उनले भने, ‘प्रतिष्ठान र क्लबले २०७४ सालदेखि नियमित रुपमा क्यारिकेचर प्रदर्शनी गर्दै आइरहेको छ । 
कोरोना कहरका कारण केही असजिलो भए पनि नेपालमा क्यारिकेचरप्रतिको कलाकार र दर्शकको अभिरुचिलाई ध्यानमा राखेर यो प्रदर्शनी गरिएको हो ।’ क्षितिजका अनुसार प्रदर्शनीमा ४२ जना कलाकारले बनाएका चार दर्जन बढी क्यारिकेचर राखिएको छ ।
प्रदर्शनीमा सहभागी नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले क्यारिकेचर कार्टुनसँगै पत्रकारिता र कलाक्षेत्रमा समेत उत्तिकै महत्वपूर्ण रहेको विचार व्यक्त गरे । उनले भने, ‘प्रदर्शनीमा राखिएका क्यारिकेचरको नेपालको वर्तमान अवस्थालाई समेत बुझ्न सकिन्छ ।’ 


नाफा परिसरमा तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा अशोकमान सिं, अविन श्रेष्ठ, जीवन राजोपाध्याय, वासु क्षितिज, देवेन्द्र थुम्केली, रविन्द्र मानन्धर, केशव राज खनाल, योगेश खपाङ्गी, राजेश मानन्धर, सागर शाह, भानु भट्टराई, महेश बस्ताकोटी, रवि मिश्र, रामकृष्ण थापा, उमेशचन्द्र अधिकारी, दीपक गौतम, सानुराज डंगोल, अकृन अधिकारी, सुजिता महर्जन, रमिला महर्जन, एनबि गुरुङ, पल्पसा मानन्धर, प्रकाश थापा प्रथा, एलिना पोखरेल, असिना भण्डारी, अर्पिता शाक्यले कला, साहित्य, खेलकुद, चलचित्र, व्यापार लगायतका क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर राखिएको छ । 
यस्तै, प्रदर्शनीमा वामन चालिसे, विश्व थापा, सुदर्शन सिग्देल, चाँदनी जोशी, दिव्या श्रेष्ठ, ज्योत्स्ना उदास, कीर्ति तिमिल्सेना, मनरा प्रजापति, निरुपा राजभण्डारी, प्रतिमा चौधरी, रामहरि रिमाल, राजकी अर्याल, सदीश्री थापा, सोना नेपाली, सुश्रीना शाक्य, स्वस्तिका बलामी लगायतका कलाकारले बनाएका क्यारिकेचर राखिएको छ । 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार