सोसल मिडिया
Contact Us
युनिकोड
तेहरान । इरानका राष्ट्रपतिले आफ्नो देशका एक वरिष्ठतम परमाणु वैज्ञानिकको हत्याको आरोप इजरायलमाथि लगाउँदै पारमाणविक कार्यक्रम धीमा नबनाइने बताएका छन् । राष्ट्रपति हसन रुहानीले वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्याको इरानले उपयुक्त समयमा बदला लिने चेतावनी समेत दिए । इजरायलले त्यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन । तर विगतमा उसले इरानको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउने प्रमुख व्यक्ति फख्रिजादेह नै भएको बताउँदै आएको थियो । परमाणु वैज्ञानिक फख्रिजादेहको हत्यासँगै इरानको पारमाणविक कार्यक्रमलाई लिएर अमेरिका र उसका साझेदार मुलुकहरूसँग तनाव बढ्ने चिन्ता व्यक्त हुन थालेको छ । राजधानी तेहराननजिकै इरानका वरिष्ठतम वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या गरिएको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको थियो । दमावन्द काउन्टीमा पर्ने अबशार्दस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । इरानका विदेशमन्त्री जवाद जारिफले ‘कुनै राज्यद्वारा गरिएको आतंकवादी कर्म’ भन्दै हत्याको निन्दा गरेका छन् । इरानको गोप्य पारमाणविक कार्यक्रममा फख्रिजादेहको भूमिका रहेको पश्चिमा गुप्तचर निकायहरूको विश्वास रहिआएको छ । ‘यदि इरानले पारमाणविक अस्त्रहरूको विकास गर्न चाह्यो भने फख्रिजादेह इरानी बमका पिता ठहरिनेछन्’, सन् २०१४ मा एक पश्चिमा कूटनीतिज्ञले समाचार संस्था रोयटर्सलाई भनेका थिए । इरानले आफ्नो पारमाणविक कार्यक्रम नितान्त रूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको बताउँदै आएको छ । इरानले प्रवद्र्धदित युरेनियमको बढ्दो मात्रामा विकास गरिरहेको ताजा चासोबीच वरिष्ठतम वैज्ञानिकको हत्याको समाचार बाहिर आएको हो । गैरसैनिक ऊर्जा उत्पादन र सैनिक अस्त्र निर्माण दुवैका लागि प्रवद्र्धदित युरेनियम महत्वपूर्ण मानिन्छ । सन् २०१५ मा छवटा शक्ति राष्ट्रहरूसँग भएको सम्झौताले इरानको प्रवद्र्धित युरेनियम उत्पादनलाई सीमित तुल्याइदिएको थियो । तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देशलाई सम्झौताबाट अलग गरेपछि इरानले पनि उक्त सहमतिलाई मान्न छोड्यो । लामो समयदेखि इजरायलले सम्झौताको विरोध गर्दै आए पनि राष्ट्रपति निर्वाचित जो बाइडनले जनवरीमा पद सम्हालेपछि इरान सँगको सम्झौतामा अमेरिका फर्कने प्रतिबद्धता जनाएका छन् । सन् २०१० देखि २०१२ को अवधिमा इरानका चारजना परमाणु वैज्ञानिकको हत्या भएको छ । हत्यामा इजरायलको संलग्नता रहेको तेहरानले आरोप लगाउने गरेको छ । सन् २०१८ को अप्रिलमा इरानको पारमाणविक कार्यक्रमबारे प्रस्तुति दिँदा खासगरी इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले फख्रिजादेहको नाम उल्लेख गरेका थिए ।
मोहसिन फख्रिजादेहलाई के भयो ? ‘सशस्त्र आतंकवादीहरूले रक्षा मन्त्रालय अन्तर्गतको रिसर्च एण्ड इनोभेशन संगठनका प्रमुख मोहसिन फख्रिजादेह सवार गाडीलाई निशाना बनाए’, रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । ‘आतंकवादीहरू र उहाँका अंगरक्षकहरूबीच भएको एउटा भिडन्तपश्चात् फख्रिजादेह गम्भीर रूपमा घाइते हुनुभयो र उहाँलाई तत्काल अस्पताल पु¥याइयो’ विज्ञप्तिमा उल्लेख छ, ‘उहाँको ज्यान जोगाउने चिकित्सकहरूको प्रयास दुर्भाग्यवश विफल भयो र केही । मिनेटअघि मात्रै उहाँले संसार छोड्नुभयो ।’
को थिए मोहसिन फख्रिजादेह ? उनी इरानका ख्यातिप्राप्त परमाणु वैज्ञानिक हुनुका साथै इरानको इस्लामिक ‘रिभोल्युशनरी गार्ड क्रप्स’का एक वरिष्ठ अधिकारी पनि थिए । पश्चिमा सुरक्षा स्रोतहरूले लामो समयदेखि उनलाई एकदमै शक्तिशाली र इरानको पारमाणविक कार्यक्रमका महत्वपूर्ण व्यक्ति भएको बताउँदै आएका थिए । सन् २०१८ मा इजरायलले हात पारेका गोप्य दस्तावेजहरूका अनुसार पारमाणविक अस्त्र निर्माणका लागि उनले इरानी कार्यक्रमको नेतृत्व गरेका थिए । त्यसबेला इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले फख्रिजादेहलाई इरानको पारमाणविक कार्यक्रमका प्रमुखको रूपमा चिनाएका थिए । ‘यो नाम सम्झिराख्नूस्’ भनेर मानिसहरूलाई नेतन्याहुले आग्रह गरेका थिए ।–बीबीसी