इजरायलमा नयाँ सरकार बनाउन पहल

नेतान्याहुलाई सरकार बनाउन नौ सांसद आवश्यक
मंगलबार, चैत २४, २०७७

जेरुसेलम । इजरायलमा नयाँ सरकार गठन गर्न राष्ट्रपति रुभेन रिभ्लिनले पूर्व प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आह्वान गरेका छन् । 
निर्वाचनको अन्तिम नतिजा घोषणा हुन नसकेको भए पनि उनले मङ्गलबार सरकार गठनका लागि पहल थाल्न नेतान्याहुलाई आह्वान गरेका हुन् । देशको सबैभन्दा लामो समय नेतृत्व गरेको नेताका रूपमा उनलाई अगाडि सारिएको राष्ट्रपति कार्यालयको भनाइ छ ।  संसद्मा कूल सांसद सङ्ख्या १२० रहेकाले बहुमतको सरकार गठनका लागि कम्तीमा ६१ सांसदको समर्थन चाहिन्छ ।  अहिलेसम्म सार्वजनिक भएको र स्वीकारिएको नतिजानुसार नेतान्यहुको पक्षमा ५२ सांसद रहेको बताइएको छ । अपुग सांसद उनले व्यवस्थापन गर्न सके उनकै नेतृत्वमा सरकार बन्नसक्ने देखिएको छ । अहिले नै बहुमत नभएको भए पनि अरुले भन्दा धेरै सांसदहरूको सर्मथन उहाँलाई रहेको देखिएकाले उहाँले नै सरकार बनाउने सम्भावना धेरै देखिएको बताइएको छ ।
राष्ट्रपति रिभ्लिनले भनेका छन्, ‘आपराधिक क्रियाकलापमा संलग्न भएको आरोप लागेका व्यक्तिलाई सरकार गठन गर्न आह्वान नगरेको भए हुन्थ्यो भन्ने धेरैलाई लागेको हुनसक्छ, तर कानुनमा आरोपीलाई प्रधानमन्त्री बन्न अवरोध गरिएको छैन भने उहाँलाई जतिको सजिलो अरुलाई नहुने देखेर उहाँलाई रोजेको हुँ ।’  नेतान्याहुलाई भ्रष्टाचार गरेको आरोपमा अहिले तीन वटा मुद्दा लगाइएको छ । उनी सन् २००९ देखि राज्यको शक्तिकेन्द्रमा छन् ।  इजरायलमा गत २३ मार्चमा निर्वाचन भएको हो भने पछिल्लो दूई वर्षमा यो चौथो निर्वाचन हो ।–सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  २१:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार