रोल्पाको रुन्टीगढी गाउँपालिकाद्वारा तरकारी करमा छुट

शनिबार, असार २५, २०७९

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकाले तरकारी उत्पादक कृषकबाट लिँदै आएको कर छुट गरेको छ । यस क्षेत्रका तरकारी उत्पादक कृषकले स्थानीय करको रुपमा तरकारी कर बुझाउँदै आएका थिए । 
तरकारी उत्पादक कृषकले यसअघि प्रतिकिलो ५० पैसाका दरले तरकारी कर तिर्ने गर्दथे । अघिल्लो कार्यपालिकाको सो निर्णयलाई वर्तमान कार्यपालिकाले परिवर्तन गरेको हो । नीति तथा कार्यक्रममा कृषकले तिर्दै आएको सो कर नलिने निर्णय भएको छ । उक्त निर्णय नयाँ आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ । 
यस क्षेत्रका कृषकले वार्षिक १० लाख किलोभन्दा बढी तरकारी उत्पादन गर्दै आएका छन् । गाउँपालिका अध्यक्ष जनक पुनले आम्दानीको मुख्य स्रोतको रुपमा रहेको तरकारी खेतीमा कृषकलाई लगाइदै आएको कर नलिने निर्णय गरेको बताए । 
गाउँपालिकामा टमाटर, बन्दा, खुर्सानी, भान्टा, सिमीजस्ता मौसमी र बेमौसमी तरकारी अत्यधिक उत्पादन हुने गर्दछ । यहाँ उत्पादित तरकारी दाङको घोराही, तुलसीपुर, बुटवल, नेपालगञ्जलगायतका सहरमा जाने गर्दछ । गाउँपालिकाको यो निर्णयले कृषकलाई राहत पुग्ने कृषक जयबहादुर बस्नेतले बताए । 
रुन्टीगढीका अधिकांश वडा तथा त्रिवेणी गाउँपालिकाको बूढागाउँ, नुवागाउँ, जुगारलगायतका क्षेत्रलाई तरकारीको भण्डार मानिन्छ । 

काभ्रे चौँरीदेउरालीका कृषकलाई ट्र्याक्टर र थ्रेसर वितरण

काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौँरीदेउराली गाउँपालिकाका किसानलाई गाउँपालिकाले हाते ट्र्याक्टर र थ्रेसर वितरण गरेको छ । 
कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले यहाँका कृषक समूह र कृषि फार्ममार्फत किसानलाई गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं र उपाध्यक्ष शेरबहादुर तामाङले संयुक्तरुपमा सो उपकरण वितरण गरेका हुन् ।
आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक कार्यक्रमअन्तर्गत किसानलाई ४५ वटा हाते ट्र्याक्टर र दुई वटा थ्रेसर वितरण गरिएको गाउँपालिका अध्यक्ष चौलागाईंले बताए । उनले कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रीकिकरण गर्दै हरेक कृषि कार्यमा व्यावसायीकरण आवश्यक रहेकाले गाउँपालिकाले कृषि औजार वितरण गरेको बताए । उपाध्यक्ष तामाङले किसानलाई व्यावसायिक बनाउन सहयोग गरेको बताए । 

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार