माओवादी केन्द्रले पार्टीबाट निकाल्यो चार सांसदलाई 

मंगलबार, चैत २४, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका चार सांसदलाई पार्टी सदस्य नरहने गरी कारवाही गरेको छ ।  प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी माओवादी केन्द्रले संघीय संसद् सचिवालयलाई गराएको छ ।  राजनीतिक दल त्यागसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ बमोजिम स्पष्टीकरण माग गरी मन्त्रिपरिषद्बाट फिर्ता आउन गरिएको निर्देशन अस्वीकार गरेकाले कारबाही गरिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद् सचिवालयलाई जानकारी गराएका छन् ।  माओवादी केन्द्रको यही चैत १ र २ गते बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई प्रत्यायोजित गरेको अधिकार बमोजिम रायमाझी, भट्ट, साह र चौधरीले दल त्याग गरेको निर्णय गरिएको जनाइएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रतिनिधिसभामा पेश गर्ने निर्णयबमोजिम उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरिएको हो ।  सांसदहरु रायमाझी, भट्ट र चौधरीले स्पष्टीकरण नदिएको र साहले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको तथा राजनीतिक दलसम्बन्धी ऐनले तोकेको दायित्व उल्लंघन गरेको संघीय संसद् सचिवालयमा माओवादी केन्द्रले गराएको जानकारी पत्रमा उल्लेख छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १९:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार