एमाले नेता दुर्घटना, तीन घाइते 

शुक्रबार, असार २४, २०७९

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी  एमालेका नेता सवार गाडी दुर्घटनामा परेको छ । पूर्वपर्यटनमन्त्री कृपाश्वर शेर्पा सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा पूर्वपर्यटन मन्त्री शेर्पा सामान्य रहेका  छन्  । उनीसँगै सवार एमाले पोलिटब्यूरो सदस्य गोकुल घर्ती, आदिवासी जनजाति महासङ्घका महासचिव पेम्बा गुरुङ र आदिवासी जनजाति उपमहासचिव देवराज राई घाइते भएका  छन्  ।घाइतेको उद्धार गरी सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । प्राथमिक उपचारपछि घाइते तीनलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिए पनि मौसमका कारण हेलिकप्टर असम्भव भएपछि एम्बुलेन्समार्फत काठमाडौँ लगिने तयारी गरिएको छ । घाइते तीनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ प्रदेश नं १ को विस्तारित बैठकमा भाग लिन धनकुटा जाने क्रममा मदनभण्डारी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–१४ चन्दनपुरमा उनीहरू सवार गाडी दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार उनहिरू सवार बा २ च ९००३ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रासस  


 

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार