अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउने न्यूजिल्याण्डको घोषणा 

मंगलबार, चैत २४, २०७७

वेलिङ्टन । न्यूजिल्यान्डले आगामी अप्रिल १९ देखि अस्ट्रेलियासँग सीमित संख्यामा हवाई उडान शुरु गर्ने घोषणा गरेको छ ।  दुई छिमेकी मुलुकबीच प्रारम्भ हुन लागेको हवाई मार्गबाट यात्रा गर्नेहरुले क्वारेन्टाइनमा बस्नु पर्ने छैन । कोरोना भाइरस महामारीका कारण दुबै मुलुकमा अलपत्र परेका र आफन्तजनलाई भेटघाट गर्न यो सुविधाले ठूलो मद्दत पुग्नेछ । साथै कोरोनाका कारण सङ्कट व्यहोरी रहेको पर्यटन उद्योगलाई पनि यसले राहत दिने विश्वास गरिएको छ । दुबै मुलुकले कडा लकडाउन गरी कोरोनाभाइरसको प्रसार रोक्न ठूलै सफलता हासिल गरेका थिए । न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आफ्ना स्वास्थ्य अधिकारीहरुले अस्ट्रेलियाबाट कोरोना संक्रमण हुने खतरा निकै न्यून रहेको र अब यात्रा निकै सुरक्षित रहने बताएको जानकारी दिएकी छन् । प्रधानमन्त्री आर्डेनले भनिन्, “हवाई उडानको थालनीले अर्थतन्त्रलाई पुनः गतिशील तुल्याउन मद्दत गर्नेछ र यात्राका क्रममा भाइरसको संक्रमण रोक्न उच्चस्तरीय प्रबन्ध पनि गरिने छ ।” अस्ट्रेलियाले यसअघि पनि न्यूजिल्यान्डबाट अस्ट्रेलिया आउने यात्रुलाई क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको थियो तर न्यूजिल्यान्डले निकै सावधानी अपनाएको थियो ।  अस्ट्रेलियाबाट न्यूजिल्यान्ड आइपुगेका हरेक व्यक्तिलाई दुई साताको क्वारेन्टिनमा बस्नैपर्ने नियम लगाइएको थियो ।  दुबै देशले विश्वका अन्य मुलुकसँगको यात्रालाई निकै कडा बनाएका थिए । कोरोना देखिएका मुलुकका नागरिक अस्ट्रेलिया आइपुगे उनीहरुलाई कडा क्वारेन्टिनमा राख्ने गरिएको थियो । क्विन्सल्यान्डस्थित दी काउ रेस्टुराँका मालिक माल प्राइसले यस वर्ष आफ्नोमा ८० प्रतिशतले ग्राहक घटेको बताए । उनले अब बिस्तारै व्यवसायले गति लिने विश्वास व्यक्त गरे ।– एपी
 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार