सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार संकटतर्फ धकेलिएको छ । सरकारमा सहभागी नेकपा एमालेका तीन जना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएपछि मुख्यमन्त्री शाहीलाई राजनीतिक संकट सामाना गर्नु परेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा पत्र बुझाउँदै सरकारबाट अलग भएका छन् । राजीनामा दिएलगत्तै नेकपा एमालेको संसदीय दलको बैठकमा तीनै जना मन्त्री सहभागी भएका छन् । पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको जानकारी गराउँदै मन्त्रीहरुले दलको बैठकमा नै आफ्ना अडानका विषयमा छलफल र बहस गर्ने जनाएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रबाट निर्वाचित मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका एमालेतर्फका मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । कर्णाली प्रदेशसभामा ४० जना सांसदमध्ये माओवादी केन्द्रले दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई कारबाही गरेको पत्र संसद्मा बुझाएपछि हाल प्रदेशसभामा ३९ जना सांसद छन् । यीमध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एक जना सांसद छन् ।