सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रतिनिधिमण्डलले आगामी मङ्सिर २ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न प्रस्ताव गरेको छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा छलफल गरी सो विषयमा छिट्टै निर्णय लिइने बताएका छन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको सिफारिसमा निर्वाचनको मिति सरकारले तोक्ने व्यवस्था छ । विद्युतीय प्रणालीबाट मतदानको व्यवस्था गर्ने भएमा आवश्यक सामग्री आउँदो साउन मसान्तसम्म आयोगलाई उपलब्ध गराउन आयोगले आग्रह गरेको छ ।
विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई आधार मानेर दुवै सभाका सदस्यको समयावधि आगामी मङ्सिर २२ गते सम्पन्न हुने आयोगले जनाएको छ । निर्वाचन स्वतन्त्र, भयरहित, निष्पक्ष, विश्वसनीयका साथै खर्च न्यूनीकरण गर्न दुवै निर्वाचन एकै दिन सम्पन्न गर्ने तयारी आयोगले गरेको छ ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने
निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ ।
मौजुदा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको समयावधि आगामी २२ मंसिरमा समाप्त हुने जानकारी दिएको आयोगले यसअघि नै प्रदेशसभा र प्रनिनिधिसभा सदस्यको निर्वाचन गर्नुपर्ने बताउँदै २ मंसिरको मिति सरकारसमक्ष सिफारिस गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेर २ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन एकै चरणमा गर्न मिति सिफारिस गरेको हो ।
उक्त निर्वाचन गर्न १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
यसअघि २०७४ सालमा भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७ अर्ब ८० करोड खर्च भएको प्रवक्ता पौडेलले बताए ।