बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै ।

शुक्रबार, असार १७, २०७९

बारा  ।अविरल वर्षका कारण भलपानीको बाढी पसर प्रभावित बनेको निजगढको जनजीवन सामान्य बनेको छ । वर्ष रोकिएर बाढी र डुवान घटेपछि जनजीवन समान्य बन्दै गएको हो ।अघिल्ला दुई दिनदेखिको लगातार वर्षपछि आएको बाढी पसेर इलाका प्रहरी कार्यालय निजगढको मेससहित पूर्वपश्चिम लोकमार्गको सहिद चोक क्षेत्रलगायत विभिन्न स्थानका घर, पसल र कार्यालय डुवानमा परेका थिए । 

भलपानीको बाढीले निकास नपाउँदा घर तथा पसल र कार्यालय डुवानमा परेका हुन् । बाढीले निजगढ नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का दर्जनौं घर डुवानमा परेका थिए । बाढीका कारण सहिद चोकबाट राजमार्गको पूर्वतर्फको लच्कासम्मको क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो । बाढी पसेर इलाका प्रहरी कार्यालय निजगढको मेसमा रहेको भाँडाकुँडा बगाएको प्रहरी निरीक्षक सञ्जीव ओलीले जानकारी दिए । बाढी र डुवानले मेस सञ्चालन  गर्न नसकिएपछि प्रहरी कार्यालयका प्रहरीलाई निजगढ बजारको एक होटलमा लगेर खाना खुवाइएको निरीक्षक ओलीले जानकारी दिए । कार्यालयको मूलगेटबाटै बाढी पस्न थालेपछि प्रहरीहरूले बालुवाको बोराको बाँध बनाएर नियन्त्रण गरेका थिए । तर भवनको पछाडिपट्टिबाट पसेको बाढीले चौकीको मेस डुवानमा पारेको र सामग्री बगाएको हो । 

निजगढ नगरपालिकका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ, वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालसहितको टोलीले पूर्वपश्चिम लोकमार्गको प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार