सप्तरीमा छ महिनामा ४४ मानवअधिकार उल्लङ्घनका घटना

शुक्रबार, असार १७, २०७९

सप्तरी । सप्तरीमा छ महिनाको अवधिमा ४४ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतिका घटना बढेको छ । इन्सेक सप्तरी शाखाले सन् २०२२ को जनवरीदेखि जुनसम्मको अवधिमा अभिलेख गरिएको घटना सार्वजनिक गर्दै सो जानकारी दिएको हो । यो छ महिनाको अवधिमा महिला र बाल हिंसाका घटना बढी अभिलेख गरिएको छ ।
इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सार्वजनिक गर्नुभएको प्रतिवेदनअनुसार बढी चर्चामा रहेको घटनामा बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई २०७८ माघ २१ गते देवरले पेट्रोल छर्केर आगो लगाई हत्या गरेको उल्लेख छ । हत्या आरोपमा पक्राउ परेका २१ वर्षीय परमेश्वर साह असार ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । यस्तै सुरुङ्गा नगरपालिका–२ घुमाउने चौरीकी ४३ वर्षीया देवकुमारी सदाको हत्या आरोपमा उनका श्रीमान् ४९ वर्षीय अगहनु सदा रु ५० हजार धरौटी रकम राख्न नसक्दा चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।
यस वर्ष गैरराज्यबाट तीन हत्याका घटनामध्ये २७ र ३५ वर्षका दुई दलित र २५ वर्षका एक मुस्लिम समुदायका युवकको हत्या भएको अभिलेख छ । आरोपितहरू १६ मध्ये पुर्पक्षका लागि थुनामा दुई, धरौटीमा रिहा तीन, बालसुधार गृहमा एक र पक्राउ पुर्जी जारी भएका १० जना छन् । नवजात शिशुको हत्या घटनामा शव फाल्नेको पहिचान हुनसकेको छैन । प्रतिवेदनअनुसार बालिका बलात्कारको १० घटनामा १८ वर्षभित्रका १० पीडित छन् । आरोपित १५ वर्षदेखि ६८ वर्षका १५ मध्ये पाँच पुर्पक्षका लागि थुनामा र पाँच जना बालसुधार गृहमा छन् । बाँकी तीन आरोपितविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने दुई जना हालै पक्राउ परेका छन्।
यसैगरी महिला बलात्कारका तीन घटनामा २५ माथि ४० वर्षीयासम्मका तीन महिला पीडित भएका छन् । बलात्कारको घटनामा १८ देखि ३० वर्षीय पाँच आरोपीमध्ये तीन फरार छन्, एक हालै पक्राउ परेका छन् भने एक जनाले सफाइ पाएका छन् । महिला बलात्कार प्रयासका एक घटनामा २८ वर्षीया महिला पीडित भएकी छिन् । उक्त घटनामा आरोपित दुईमध्ये एक धरौटीमा रिहा भएका छन् भने अर्का एक फरार छन् ।
अमानवीय व्यवहारको एक घटनामा २७ वर्षीया एक महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ । परिवारकै सदस्यबाट भएको सो हिंसामा चार जना पुर्पक्षका लागि धरौटीमा रिहा भए भने दुई फरार छन् । इन्सेक प्रतिनिधि पोखरेलका अनुसार छ महिनाको अवधिमा बहुविवाहको पाँच, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत चार, घरेलु हिंसाका तीन तथा गर्भपतन, मानव बेचबिखन, अपहरण उद्योग, अभद्र व्यवहार, धम्की र झडपका एक–एक घटना अभिलेख गरिएको छ ।

आठ पसललाई कारवाही 

खरिद बिलबिना नै सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने सप्तरीको राजविराजका आठ पसल कारबाहीमा परेका छन् । खरिद बिल देखाउन नसक्ने राजविराजका आठ पसल कारबाहीमा परेको वीरगन्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ । उक्त कार्यालयले बिहीबार गरेको पसल अनुगमनमा खरिद बिल नदेखाउने, मूल्यसूची नराख्ने र अनुगमन कार्यमा असहयोग गर्ने पसललाई जरिवाना गरिएको हो ।कार्यालयका सूचना अधिकारी दिलीप खंगका अनुसार मूल्यसूची नराख्ने दास हार्डवेयरलाई रु ५० हजार जरिवाना गरिएको छ । खरिद बिल नदेखाउने राजविराजकै नुर फ्रुट एण्ड जनरल स्टोर र नदिना फ्रुट एण्ड जनरल स्टोरलाई रु २०–२० हजार जरिवाना गरिएको छ । 

गौरव ट्रेडर्स एण्ड सप्लायर्सलाई रु १० हजार, सीता ट्रेडर्स र लेडी  कलेक्सनलाई रु पाँच–पाँच हजारका दरले जरिवाना तोकिएको छ । अनुगमन कार्यमा असहयोग गर्ने बालाजी खाद्यान्न खरिद–बिक्री केन्द्र र न्यू पूजा बस्त्रालयलाई रु २० हजारका दरले जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो ।उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार पसललाई जरिवाना गरिएको उहाँको भनाइ थियोे । खरिद बिलबिना सामान खरिद गरी उपभोक्तालाई बिक्री गर्ने गरेको गु्नासोका आधारमा अनुगमन गरिएको उक्त कार्यालयले जनाएको छ । भारतबाट लुकाइछिपाइ राजस्व छलेर लत्ताकपडा, खाद्यान्नलगायत उपभोग्य वस्तु भित्र्याइ विभिन्न पसलमा बिक्री वितरण हुँदै आएको व्यापारीहरुकै गुनासो छ ।

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार