विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला 

बिहीबार, असार १६, २०७९

काठमाडौं । पर्सा, बझाङ, कञ्चनपुर, प्युठान र मकवानपुरमा पाँच जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पर्साको बहुदरमाई नगरपालिका–७ बस्ने श्याम बाबु प्रसाद कलवारकी छोरी १४ वर्षीया महिमा गुप्ताको बुधबार शव फेला परेको छ । सोही ठाउँस्थित छप्कैयाघाटमा छोरीको हत्या गरी शव जलाई रहेको भन्ने खबर हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त घाटमा चिता जलिरहेको अवस्थामा शव फेला परेको हो । प्रहरीले अनुसन्धानका लागि महिमाको परिवारका ३ जना सदस्यलाई नियन्त्रणमा लिएको छ भने हाल फेला नपरेका श्याम बाबु समेत २ जनाको खोजी गरिरहेको छ । बझाङको जयपृथ्वी नगरपालिका–७ धम्नाउबाट चुलिटीका जाने बाटोमा धम्नाउ बस्ने ५८ वर्षीय जोगगिरी बोहरा बुधबार मृत अवस्थामा फेला परेका छन ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–९ खल्लास्थित महाकाली नदीको किनारमा हाल पहिचान नखुलेकी १९ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । प्युठानको प्युठान नगरपालिका–७ झिमरुक खोलाको बगरमा हाल पहिचान नखुलेकी करिब ५० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।  मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बोटबारीस्थित मनहरी खोलामा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।    सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार