ललितपुरको देउराली बहुद्देश्यीय सहकारी समस्यामा

१० हजार भन्दा बढीको चेक साटिँदैन
बिहीबार, असार १६, २०७९

ललितपुर । ललितपुर सातदोबाटोस्थित देउराली बहुद्देश्यीय सहकारी संस्था बचतकर्तालाई समयमै बचत फिर्ता गर्न नसक्दा समस्यामा परेको छ । पछिल्ला दिनमा बचत फिर्ताका लागि भीड बढेपछि सहकारीले बचत फिर्ता गर्न नसकेको हो ।

हरेक दिन सहकारी कार्यालयमा पैसा लिन आउनेको भीड देखिने गरेको छ । जावलाखेलमा व्यावसाय गर्दै आएका भारत घर भएका  बचतकर्ता राकेश चौधरीले टोकन लिएर मात्रै पैसा निकाल्न पाउने सहकारीले नियम लगाएकोे बताए  । उनले भने, ‘गत सोमबारसम्म टोकन बाँडिएको थियो । अहिले बन्द छ । अब टोकन लिनेले २८ असारमा मात्रै पैसा पाउँछ ।’

टोकन लिएकालाई मात्रै कार्यालय प्रवेश गर्न दिएको छ । आर्थिक वर्षको अन्तिम भएकाले सबै ठाउँमा आर्थिक दबाब रहेको बताउँदै सहकारीले साउनको पहिलो साताबाट कारोबार सुचारु गर्ने बताएको छ । सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईले एकैपल्ट ४० लाख रुपैयाँ बचतकर्ताको फिर्ता गर्नुपरेकाले अप्ठ्यारो परेको स्वीकार गरे । उनले भने, ‘हामी भागेका छैनौं । कार्यालय खोलेरै काम गरिरहेका छौं । विस्तारै पैसा फिर्ता गछौं । अहिले पनि दैनिक ३० लाखभन्दा धेरै बचत फिर्ता गरिरहेका छौं ।’

उनका अनुसार बजार प्रतिनिधि अहिले पनि ग्राहकसामु पुगिरहेका छन् । बजारबाट बचत राख्न कर गरिएको छैन, तर ऋण उठाउन भने सहकारीले जोडबल गरिरहेको छ । सहकारी कार्यालयमा भेटिएका एक बचतकर्ताले नाम नबताउने सर्तमा आफूले ४० लाख बचत गरेको बताए । उनले भने, ‘हरेक दिन १० हजार बचत फिर्ता गर्ने रे । दिनदिनै टोकन पाइँदैन । मलाई पैसा फिर्ता दिन दुई चार वर्ष लाग्ने भो ।’

पछिल्लो संकट टार्न अध्यक्ष चौलागाई लागेको एक कर्मचारीले बताए । उनले भने, ‘हरेक दिन छलफल र समस्या समाधानका लागि प्रयास भइरहेको छ ।‘ गएको असार पहिलो साता पैसा फिर्ता माग्न आउने हजारको भीड अहिले सयमा झरेको ती कर्मचारीले बताए ।

पछिल्लो समय आफ्नो सबै पैसा फिर्ता माग्न आउने बचतकर्ताको दबाबले सहकारीलाई झन् अप्ठेरो परेको चौलागाई बताउँछन् । भन्छन्, ‘सबैले धैर्य गरेर हाम्रो काम र हाम्रो व्यवहार हेरेर विश्वास गरेमा समस्या सुल्याउन सजिलो हुन्छ ।’ सहकारीले सातदोबाटो, नयाँ सडक र सूर्यविनायकमा शाखा कार्यालयमार्फत कारोबार गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार