सोसल मिडिया
Contact Us
युनिकोड
उदयपुर । नेपाली कांग्रेस केन्द्रीय समितिले शुक्रबार सरकारको नेतृत्व लिन आफू तयार रहने निर्णय गरेको भोलिपल्ट महामन्त्री डा.शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न कांग्रेस सरकारको नेतृत्व लिन तयार रहेको बताएका छन् । गाईघाटस्थित लोकतान्त्रिक चोकमा आज आयोजित नेपाल राष्ट्रिय मगर संघ प्रदेश नं १ को भेलामा उनले भने, ‘नेकपा एमाले र माओवादी केन्द्र फुटेर झगडामा लागेपछि अहिले देशमा राजनीतिक सङ्कटसँगै सरकार पनि सङ्कटमा परेको छ ।’ महामन्त्री कोइरालाले अहिले देशको तत्कालीन अवस्थाको राजनीतिक समस्या समाधान गर्न र देशलाई सङ्कटबाट बचाउनका लागि आवश्यक परे नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न तयार रहेको उल्लेख गर्दै कांग्रेसले मात्र देशलाई सही निकास दिन सक्ने दाबी गरे । ‘पाँच वर्षका लागि कम्युनिष्टलाई जनताले मतदान गरेर बहुमत दिई सत्तामा पु¥याएका कारण कांग्रेसले प्रतिपक्षको मात्र धर्म निर्वाह गर्दै आएको छ तर अहिले देशको अवस्था झनै जटिल बन्दै गएकाले कांग्रेस सरकारको नेतृत्व लिन तयार रहेको छ’ उनले भने । महामन्त्री कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अबको सरकार बन्न सक्ने र देशलाई निकाश दिएर आवश्यक परे ताजा जनादेशमा गई राजनीतिक निकास दिने बताए । मुलुकको प्रजातान्त्रिक आन्दोलनमा मगर जातिको ठूलो योगदान रहेको भन्दै उनले पछाडि परेका मगर जातिको उत्थानका लागि उनीहरुलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य डा.नारायण खड्काले अहिले देशमा राजनीतिक संकट कम्युनिष्ट नेतृत्वको सरकारले ल्याएकाले कम्युनिष्टबाट देशको समस्या समाधान नहुने जिकिर गरे । कांग्रेसका नेता भीष्मराज आङदम्बेले भने, ‘जब–जब देशमा राजनीतिक संकट आएको छ । त्यसको समाधान कांग्रेसले नै गरेको छ । त्यसैले अब कांग्रेसले सरकारको नेतृत्व लिने बेला आएको छ ।’ नेपाली काँग्रेसका नेता रामहरि खतीवडा, लक्ष्मी परियार, प्रमिला राईलेलगायतले मुलुकको विद्यमान राजनीतिक अवस्थाको विविध पक्षमाथि बोलेका थिए ।