सोसल मिडिया
Contact Us
युनिकोड
मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक चैत २४ गते बस्ने भएको छ । गत माघ ७ गतेदेखि सुरु भएको सातौँ अधिवेशनमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि माघ ९ गते छलफल गरी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले कार्य व्यवस्था परामर्श समितिको बैठकले यही २४ गते दिनको १ः०० बजे बैठक बस्ने तय गरेको जानकारी दिएका छन् । सभामुख श्रेष्ठका अनुसार बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव सम्बन्धित पक्षले फिर्ता लिएको विषयमा जानकारी दिने तथा सार्वजनिक सडक र सरोकारसँग सम्बन्धित विधेयक २०७७ र प्रदेश पर्यटन विधेयक २०७७ माथि छलफल प्रारम्भ हुने बताए । उनले प्रदेश सरकारले ल्याउने राष्ट्रिय सरोकारका विषयसँग सम्बन्धित विधेयकसहित करिब एक हप्तासम्म बैठक सञ्चालनमा ल्याइने पनि जानकारी दिए । मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वासका प्रस्तावक अरुणकुमार नेपालसहित समर्थक रहेका सदस्यले यही चैत १७ गते अविश्वासको प्रस्ताव फिर्ता लिने भन्ने निर्णय भएअनुसार प्रदेशसभा सचिवालयमा यही चैत १८ गते अपराह्न प्रस्ताव फिर्ता लिएको सूचना दर्ता गरिएको थियो । प्रदेशसभामा तत्कालीन सत्तारुढ दल नेकपाका ८० सदस्य रहेकोमा हालै सर्वोच्च अदालतको फैसलाअनुरूप अहिले सत्तारुढ नेकपा (एमाले) मा ५७, प्रमुख प्रतिपक्ष दलका रूपमा नेकपा माओवादी केन्द्रमा २३ र नेपाली काँग्रेस २२ सदस्यका रूपमा स्थापित भएको छ । यसैगरी साझा विवेकशील दलतर्फ तीन, नेपाल मजदुर किसान पार्टी दुई, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य गरी कूल ११० प्रदेशसभाका सदस्य छन् ।