आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय 

शुक्रबार, चैत २०, २०७७

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको हो ।  सर्वाेच्च अदालतले संसद पुनस्र्थापना गरेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भएपनि त्यो नैतिक र राजनीतिक अभिभारा पुरा नगरेको भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘हामीलाई अपेक्षा थियो प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु हुनेछ ।’ तर त्यसो नभएकाले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए । केन्द्रीय कार्यसमितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता शर्माले अघि भने, ‘प्रतिगमन भएको थियो र वर्तमान सरकारलाई विस्थापन गर्नुपर्छ भन्ने निष्कर्ष निकाल्ने दलहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउने सन्दर्भमा एकठाउँमा उभिएर विकल्पमा जानुपर्छ ।’
केन्द्रीय कार्यसमिति बैठक अगाडि  सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच भएको छलफलमा  लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति जुटेको थियो । केन्द्रीय कार्यालय सानोपमा साँझ ८ बजे सुरु भएको उक्त बैठकमा पार्टीको भावी रणनीतिका विषयमा छलफल भएको थियो ।  दिउँसो २ बजे बोलाइएको बैठक झण्डै ६ घण्टापछि सुरु भएको थियो । पार्टीको आगामी कदमबारे कार्यसमितिका पदाधिकारीहरूबीच अनौपचारिक रूपमा दिउँसो छलफल चलेको थियो । 
पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडललगायत नेताहरूबीच समूहगत रूपमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेताहरूबीच वर्तमान सरकारको विकल्पका बारेमा छलफल भएको शर्माले जानकारी दिए । 
बैठकमा पार्टीको क्रियाशील सदस्यता विवाद, राप्रपाबाट कांग्रेसका प्रवेश गरेकाहरूलाई क्रियाशील सदस्यता दिने र केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको विकल्पका विषयमा छलफल भएको थियो । नयाँ सत्ता समीकरणका लागि कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको निर्णयलाई कुरेर बसेको अवस्था छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  २२:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार