आसन्न निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति हुने प्रचण्डको दाबी 

बिहीबार, असार ९, २०७९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो शक्ति बन्ने जिकिर गरेका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी देशको दोस्रो ठूलो पार्टी बन्ने बताए ।  
“स्थानीय तह निर्वाचनमा वामपन्थीभित्रको पहिलो शक्ति हुने सम्भावना थियो, २०७४ को निर्वाचनमा जितेका पालिका यसपटक गुमायौँ”, उनले भने, “सङ्घ र प्रदेशमा वामपन्थीभित्र पहिलो शक्ति हुने सम्भावना छ, त्यसका लागि आजैदेखि मेहनत गर्नुस् ।” माओवादीको नेतृत्वमा मुलुक परिवर्तन भएको उल्लेख गर्दै उनले माओवादीले ल्याएको परिवर्तनका बारेमा जनतालाई बुझाउनुपर्ने बताए । 
“अब हामी जनताको घरघरमा जानुपर्छ, माओवादीको एजेण्डा भन्नुस्, माओवादीले ल्याएका परिवर्तनका बारेमा जानकारी गराउनुस्”, अध्यक्ष दाहालले भने । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको भर गर्दा केही स्थानमा हार व्यहोर्नु परेको उल्लेख गर्दै उनले अबको निर्वाचनमा गठबन्धन भए पनि आफ्नो खुट्टामा दह्रोसँग उभिनुपर्ने बताए । 
“गठबन्धनबाट स्थानीय तह निर्वाचन लडियो”, उनले भने, “अब गठबन्धनको भरपर्ने भन्दा पनि आफ्नो खुट्टामा उभिनुपर्छ ।” उनले स्थानीय तहमा सोचेजति परिणाम नआए पनि अनिश्चितताकाबीच भएको निर्वाचनले माओवादीको जित भएको बताए । “स्थानीय तहमा सोचेजति परिणाम आएन, तर तोकिएको समयमा निर्वाचन हुनु माओवादीको जित हो”, उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरचनाभित्र स्थानीय तहको निर्वाचन हुनु माओवादीको जित हो, निर्वाचन हुन्छ कि हुँदैन भन्ने दोधारबीच निर्वाचन भयो ।”

साउन १५ भित्र सङ्घ र प्रदेशका उम्मेदवारको टुङ्गो
अध्यक्ष दाहालले आगामी साउन १५ गतेभित्र आसन्न सङ्घ र प्रदेश निर्वाचनका उम्मेदवार टुङ्ग्याइने बताए। लोकप्रिय र जनताको पक्षका काम गर्नसक्ने नेतालाई निर्वाचनमा उम्मेदवार बनाइने उनले बताए । 
अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनले देशको राजनीति कता लैजाने भन्ने चाबी आफ्नो पार्टीलाई दिएको पनि दाबी गरे । 
उनले भने, ‘अहिलेको अवस्थामा पनि आफ्नो पार्टीले एक सय २२ पालिका जित्नु ठूलो कुरा हो । यही जनमत नै देशको राजनीतिको बागडोर कता लैजाने भन्ने चाबी हो ।’ 
‘हाम्रो पार्टीले सोचेजस्तो परिणाम आएन । कम्तीमा पनि ठीक ढंगले जाँदा एक सय ७० र एक सय ७५ आउँछ  भन्ने लागेको थियो उनले भने, ‘एमाले एक सय ६०–७० मा झर्छ भन्ने सोचेका थियौं । हामीले आंकलन गरेको जति आएन । त्यही भएर ठूलो कम्युनिस्ट पार्टी बन्न सफल भएनौं । एक सय २२ पालिका जित्यौं । यो भनेको पनि धेरै हो । केही परिवर्तन विरोधी र बुर्जुवाहरूले माओवादीको यत्रो आयो भन्ने ठानेका छन् ।,’ 
प्रचण्डले भने, ‘जे भए पनि हाम्रो स्थिति निर्णायक हो । निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु थियो । यसले संवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । हामीले कति जित्यौं भनेर हेर्दा एउटा चित्र देखिन्छ । कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा जसले जिते पनि माओवादीले जितेको देख्छु म । यो जित परिवर्तन विरोधीको हो । देशको राजनीतिको बागडोरलाई कता लैजाने भन्ने चाबी माओवादी केन्द्रलाई नै जनताले दिएका छन् ।’ 
गोरखा, कालीकोट, रोल्पा, रुकुममा सबै दल हुँदा पनि माओवादीले आफ्नै बुत्ताले जितेको उनले बताए । तर, ललितपुरमा भिने सोचेजस्तो परिणाम नआएको उनको भनाइ छ । ‘गठबन्धन छ भनेर रिल्याक्स ढंगले पार्टीका नेता कार्यकर्ता लागे । त्यसले मार खायो,’ उनले भने, ‘आफ्नै खुट्टामा उभिने कुरा महत्वपूर्ण हो । आफ्नै बलमा उभिने प्रयास गर्नुपर्छ ।’ 
प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन संघारमा रहेको भन्दै  उनले पाटीका  केन्दीय नेता देखी स्थानीय तहका नेताहरुलाई अहिलेदेखि नै  पाटीको काममा लाग्न निर्देशन दिएका छन्  ।
प्रचण्डले ठूलो आन्दोलनको बलमा प्रतिगमनको प्रवृत्ति पराजित भर संसद् पुनस्र्थापना भएकोसमेत बताए । ‘त्यसले निर्वाचन हुने वातावरण भयो । तर स्थानीय तहको निर्वाचन सम्पन्न हुने अवस्था आयो । संविधानको रक्षा गर्ने सबैभन्दा ठूलो दायित्व माओवादीकै हो । समावेशी समानुपातिक प्रणालीको रक्षा भयो ।’ उनले अबको निर्वाचनमा  लोक प्रिय नेतालाई टिकट दिनुपर्नेमा जोड दिए । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हरि दहालले माथिल्लो तहमा  गठबन्धन  भए पनि  पालिका र वडामा तालमेल हुन नसकेको बताए । 
उनले भने, ‘निर्वाचन परिचालनमा पनि केही कमी भएकाले  हार बेहोरनु प¥यो ।’  ललितपुर महानगर अध्यक्ष बाबुराजा बज्रर्चायले गठबन्धनले  माओबादीको भोट लिएको तर माओबादीकै उम्मेदवारलाई भोट नदिएको आरोप लगाए । उने भने ९ हजार चानचुन मत उम्मेदवार नभएको ठाउँमा गयो । यसको पार्टीमा समीक्षा हुनुपर्नेमा जोड  दिए ।
कार्यक्रममा माओवादी नेत्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, केन्द्रीय सदस्य, प्रदेश सदस्यलगायत नवनिर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो । अध्यक्ष दाहालले ५० भन्दा बढी जनप्रतिधिलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेकपा (एमाले) नेता नवराज राई र वरिष्ठ मुटुरोग विशेषज्ञ डा.कृष्ण श्रेष्ठ माओवादीमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार