सोसल मिडिया
Contact Us
युनिकोड
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश, लोकतन्त्रलाई जोखिममा पार्ने तथा पहिचान र संस्कार मेटाउने काम भइरहेको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्व नवीन्द्रराज जोशीको सातौँ दिनको पुण्यतिथिमा देवघाटमा बिहीबार आयोजित अस्तु विसर्जन एवं श्रद्धाञ्जलि समारोहमा उनले अहिलेको अनिश्चितताको कालो बादलका कारण देश कहाँ जान्छ भन्ने भन्न नसकिने अवस्थामा पुगेको धारणा व्यक्त गरे । उनले थपे, ‘देशमा अहिले अनिर्णयको कालो बादल छाइरहेको छ । लोकतन्त्रमाथि अनिष्ट हुने खतरा छ ।’ अहिले सबैतिर चिन्ता छाएको हुनाले सबै सजग भएर विखण्डनको धारणा राख्नेलाई विकल्प दिनुपर्ने उनेका सुझाव थियो । कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, गलेश्वर आश्रमका पिठाधीश १००८ स्वामी आत्मानन्द गिरिजी महाराज, गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, पूर्वमन्त्री यज्ञबहादुर थापा, तनहँु कांग्रेसका सभापति वैकुण्ठ न्यौपाने, नवलपुरका सभापति विष्णु लामिछाने, गुल्मीका सभापति भुवन श्रेष्ठ, धादिङका सभापति रमेश धमलालगायतले बोलेका थिए । कार्यक्रमपश्चात् कांग्रेसका वरिष्ठ नेतासहितको उपस्थितिमा स्व जोशीको अस्तु उनका दाजु राजुराज जोशीले देवघाटको वेणी सङ्गममा विसर्जन गरेका थिए । स्व जोशीको आमाको चाहनाअनुसार अस्तु देवघाटमा विसर्जन गरिएको हो ।–रासस