दक्षिण एसियाकै उत्कृष्ट नेपाली प्रहरीको राजनीतिकरणले साख गिर्‍यो : नवराज सिलवाल 

सोमबार, असार ६, २०७९

काठमाडौ ।  एमाले सांसद नवराज सिलवालले प्रहरीमाथि हुने राजनीतिककरण अन्त्य हुनुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले नेपाल प्रहरीलाई राजनीतिकरणबाट मुक्त गराउनुपर्ने बताएका हुन् । 

प्रधानमन्त्री प्रहरीको सुरुवा, बढुवामा ध्यान दिनुभन्दा समग्र मुलुकको विकासमा समय खर्चनु उपयुक्त हुने उनको भनाइ छ । दक्षिण एसियाकै अनुसन्धान  क्षमता र कार्यसम्पादन दक्षता उत्कृष्ट रहेको नेपाल प्रहरीको साख राजनीतिकरणले गिरेको भन्दै उनले प्रहरीलाई साधनस्रोत सम्पन्न र राजनीतिकरणबाट मुक्त गर्नुपर्ने बताएका हुन् । 

नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका सांसद सिलवालले भने, ‘ युएनको एउटा अध्ययनले भनेको छ, सार्कमा सबैभन्दा राम्रो अनुसन्धान गर्न सक्ने क्षमता र दक्षता भएको नेपालको प्रहरी  हो । यो अभिलेखीकरण भएको छ । यस्तो प्रहरीलाई राजनीतिकरण गरिएको छ । मनखुसी बढुवा, सरुवा गरिएको छ । आ–आफ्नो मान्छे चापेको छ । प्रहरीलाई सक्षम र सवल बनाउनुहोस् । प्रधानमन्त्रीले डीएसपी, डीआईजी र आइजी बढुवा गर्नेमा लाग्ने होइन, मुलुकको समृद्धिमा लाग्ने हो ।’ गृहमन्त्रीले पनि एउटा व्यक्ति र संस्थाको मात्र होइन समग्र विकासमा लाग्नुपर्ने सिलवालको भनाइ छ । 
 

 


 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार