कोरोनाको सङ्क्रमण बढेपछि फ्रान्समा फेरि  लकडाउन 

बिहीबार, चैत १९, २०७७

पेरिस । फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोंले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गरेका हुन् ।  राष्ट्रपति म्याक्रोंले देशैभरिका प्राथमिक तहका विद्यालयहरु तीन हप्ताका लागि बन्द हुने घोषणा गरेका छन् ।  उनले राष्ट्रिय टेलिभिजन प्रसारणबाट घोषणा गर्दै भनेका थिए, ‘यदि अहिलेकै अवस्था कायम रह्यो भने यसले सिंगो युरोपमा भन्दा पनि हामीलाई बढी प्रभावित पार्नेछ, त्यसैले लकडाउनको कुनै विकल्प देखिएको छैन ।’  उनले तीन साताका लागि सम्पूर्ण देशबासीलाई धैर्य गरेर आफ्नो ख्याल गर्न आग्रह गरेका छन् । यसका लागि सरकारले आवश्यक परेको सहयोग गर्ने उनले आफ्नो सम्बोधनका क्रममा बताएका छन् ।  कोरोना भाइरस महामारीको सुरुमा युरोपमा अति प्रभावित हुने मध्येको फ्रान्समा यसअघि पनि दुई पटकसम्म लकडाउन भएको थियो । त्यो बेला दुई महिना लकडाउन गरिएको थियो ।  फ्रान्समा पछिल्लो समय महामारीको तेस्रो लहर देखिन थालेको छ । यो पटकको लकडाउन कम्तीमा तीन साताका लागि गरिने बताइएको छ । लकडाउनमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्र टाढाको यात्रा गर्न र कार्यालय समयमा निकै सतर्कता अपनाउन भनिएको छ । फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या करिब छ महिना यताकै धेरै देखिएको छ । फ्रान्स, जर्मनी, बेल्जियम, बेलायतसहित युरोपेली देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ । लकडाउनको घोषणासँगै युरोपको वित्त बजारका साथसाथै आर्थिक अवस्थामा पनि नराम्रो अवस्था देखिने अनुमान गरिएको छ ।–सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  २१:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार