भारतबाट सामान आयात गर्ने पाकिस्तानको तयारी

बिहीबार, चैत १९, २०७७

इस्लामाबाद । पाकिस्तान र भारतबीचको सम्बन्ध पछिल्ला केही वर्षदेखि निकै तिक्ततापूर्ण रहे पनि पाकिस्तानले भारतबाट सीमित परिमाणमा चिनी, कपास र गहुँ आयात गर्न पुनः अनुमति दिने घोषणा गरेको छ । पाकिस्तान सरकारले भारतबाट पाँच लाख टन चिनी खरिद गर्नेगरी बुधबार अबेर निर्णय गरेको हो । सरकारको यो कदमले पाकिस्तानमा चिनीको बढ्दो मूल्यवृद्धिलाई २० प्रतिशतसम्म घटाउन सक्ने अनुमान गरिएको छ । चाँडै आउन लागेको रम्जान महिनामा चिनीको उपभोग अरु बढ्ने भएपछि पाकिस्तान सरकारले यस्तो निर्णय लिएको हो । साथै भारतबाट करिब ३० लाख टन गहुँ पनि खरिद गरिने छ भने कपास र धागोको परिमाण भने खुलाइएको छैन । पाकिस्तानको अर्थतन्त्र पहिल्यैदेखि मन्दीको अवस्थाबाट गुज्रिरहेको छ । कोरोनाभाइरसको तेस्रो लहरका कारण देशका विभिन्न स्थानमा आंशिक लकडाउन गर्नु परेकाले अर्थतन्त्रमा थप तनाब बढाएको छ ।  भारतले काश्मिरलाई दिइआएको विशेष दर्जा हटाएसँगै सन् २०१९ देखि पाकिस्तानले भारतसँगको व्यापार र कुटनीतिक सम्बन्ध निलम्बन गरेको थियो । दुबै मुलुकले आआफ्ना वरिष्ट कुटनीतिज्ञलाई फिर्ता बोलाउनुका साथै कन्सुलर कर्मचारीलाई देश निकाला वा फिर्ता गरेका थिए । तर पछिल्लो केही समयदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच पत्र आदानप्रदान भएका छन् । दुबै देशको साझा नदीका रुपमा रहेको इन्दु नदीको प्रयोगका सन्दर्भमा दुबै देशका वरिष्ट अधिकारीबीच पुनः वार्ता थालनी भएको छ । ब्लूमबर्गले युनाइटेड अरब इमिरेट्स (युएई)ले दुबै देशबीच वार्ता गराउन मध्यस्थता गर्ने समाचार प्रकाशित गरेको थियो ।  काश्मिर मामिलामा नयाँ दिल्लीको अडानमा कुनै परिवर्तन नआउँदै भारतसँग व्यापार किन खोल्न लागिएको भनी बुधबार सोधिएको प्रश्नमा पाकिस्तानी अर्थमन्त्री हमाद अजहरले जनताको भलाईका लागि सरकारले निर्णय गर्ने बताए  । पाकिस्तानी अर्थशास्त्री फारुख सलीमले भारतसँगको व्यापार सम्बन्ध तोड्ने पाकिस्तान सरकारको निर्णय भावनात्मक रहेको बताउँदै अहिले व्यापार पुनः शुरु गर्नु आर्थिक बाध्यता हो भनेका छन् । 
अजहरले अर्थ मन्त्रालयको कार्यभार मंगलबारदेखि मात्रै समालेका हुन् । प्रधानमन्त्री खानले बढ्दो मुद्रास्फिती रोक्न नसकेको आरोप लगाउँदै अर्थमन्त्रीलाई बर्खास्त गरेका थिए । यसैबीच, अन्तर्राष्ट्रिय मुद्राकोषले पाकिस्तानलाई उपलब्ध गराउने भनिएको छ अर्ब डलर स्वीकृत गरेको छ । कोरोनाभाइरस महामारी शुरु भएपछि उक्त रकम रोक्का गरिएको थियो । यसै साता कोषले ५० करोड डलर पाकिस्तानलाई उपलब्ध गराएको छ । पाकिस्तानमाथि करिब ११४ अर्ब डलर विदेशी ऋणभार छ । यो रकम पाकिस्तानको कूल गार्हस्थ्य उत्पादनको ८५ प्रतिशतभन्दा बढी हो ।–एएफपी 
 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १५:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार