पूर्वाधार एम्बुलेन्सको प्रयोग बिहान र बेलुका मात्रै

शनिबार, असार ४, २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले केही दिनदेखि सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सको प्रयोग अब बिहान र बेलुमा मात्र गरिने भएको छ । दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि कामपाले बिहान र साँझ मात्र सडकको खाल्डो पुर्ने भएको हो । 
महानगर प्रमुख बालेन्द्र साहको निर्देशनअनुसार विगत एक हप्तादेखि पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएको हो । यसको प्रयोग सडकका खाल्डा पुर्न गरिँदै छ । यसअघि फोहर बोक्ने दुई गाडीलाई रङ्ग लगाएर टिलिक्क बनाएपछि यसले गर्ने काम पनि बदलिएको हो । महानगरका इन्जिनियर कामदारसहित ६ जनाको टोली नागरिकको गुनासोअनुसार  टोल–टोलमा पुगेर सडकको मर्मतको काम भइरहेको छ ।  
कामपाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार कल सेन्टरमार्फत सडक पेटी, ढल, इँटा, ब्लकहरु बिग्रेको र भत्केको गुनासो आउनासाथ उक्त टोली तत्काल पुगेर काम सुरु गर्ने गरेको छ ।  अहिलेसम्म डल्लु, नयाँ बानेश्वर, बुद्धनगर र बालुवाटार क्षेत्रबाट धेरै गुनासो आएकाले उक्त क्षेत्रमा काम भइरहेको छ । 

ब्रुमर पुनः सञ्चालनमा 
 
तीन दिनदेखि काठमाडौँमा यान्त्रिक कुचो (ब्रुमर) पुनः सञ्चालमा आएको छ । विगतमा सञ्चालन भएको तर चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन । 
उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइएको हो । हाल कामपामा ६ यन्त्रिक कुचो सञ्चालनमा छन् । फोहरमैला व्यवस्थापन गर्ने, ब्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकास र बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाडलको व्यवस्थापन जस्ता काम अहिले नियमित रुपमा भइरहेका छन् ।   
 

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार