सङ्क्रणमणलीन न्यायसम्बन्धी कानून संशोधन गरिने

बुधबार, असार १, २०७९

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सङ्क्रणमणलीन न्यायसम्बन्धी कानून संशोधनको विधेयक संसद्को चालु अधिवेशनमा पेश गरिने जानकारी दिएका  छन्  । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ का शीर्षकमाथि सो मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्का प्रश्नको जवाफ दिँदै उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन र सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा लान प्रदेश सरकारका प्रतिनिधिसँग पनि परामर्शपछि प्राप्त सुझावका आधारमा कानूनमा संशोधन गरिने बताए  ।

     मन्त्री कोइारालाले न्याय र कानूनमा आम नागरिकको सरल पहुँच र स्वामित्व निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिँदै हरेक घरमा नेपालको संविधान उपलब्ध गराउन नागरिक एप्समार्फत् सचेतना विस्तार गरिने र मौलिक हकसम्बन्धी कानून संशोधन वा नयाँ कानून निर्माण गर्नुपरेमा आफ्नो मन्त्रालयले अतिरिक्त बजेट विना आवश्यक सहजीकरण गर्ने अवगत गराउए । उनले हाल ५० भन्दाबढी विधेयक संसद्मा विचाराधीन रहेको र त्यसलाई छिटो विधेयकमा रुपान्तरण गर्न पहल गर्ने विश्वास व्यक्त गरे ।

उनले सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई संविधानको मर्म र अन्तर्राष्ट्रिय अभ्यासअनुसार अघि बढाइने बताए  । उनले न्याय परिषद्ले न्यायाधीश नियुक्ति गर्दा व्यक्तिगत आग्रहका आधारमा नभई निश्चित निर्देशिका र क्षमताको मूल्याङ्कलनका आधारमा हुनुपर्ने जनाउँदै छूवाछूत हटाउन कानूनको पालनाका साथै सांस्कृतिक रुपान्तरण र सामाजिक शैक्षिक अभियान सञ्चालन गर्नुपर्ने बताए  ।

मन्त्री कोइरालाले जातीय विभेदविरुद्धका कानूनको पालना र ती कानूनकारे सञ्चारमाध्यम, प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको र निःशुल्क कानूनी सहायत कार्यक्रमलाई गैह्रसरकारी संस्थासँगको पनि सहयोग लिएर प्रभावकारी बनाइने बताए  । एक प्रश्नको जवाफमा उनले मन्त्री, सांसद् वा जनप्रतिनिधि वा कर्मचारीले दोहोरो सुविधा लिन नमिल्ने कानूनी व्यवस्था भएकाले सोको कार्यान्वयनका लागि सम्बन्धित सबैको भूमिका आवश्यक रहेको जनाए  । सो मन्त्रालयबारे गत जेठ २३ गते प्रतिनिधिसभाको बैठकमा छलफल भएको थियो ।

मन्त्री कोइरालाको जवाफमा थप स्पष्टीकरण माग गर्दै नेकपा  एमाले सांसद् खगराज अधिकारीले सत्य निरुपण तथा मेलमिलाप आयोगको काम किन ढिलाइ भयो ,  भनी प्रश्न गरे  भने एमालेका सांसद् कृष्णभक्त पोखरेलले नेपालको संविधानको मुद्रित प्रति नै नेपालका घरघरमा उपलब्ध गराउन माग गरे  । 

सांसद डा शिवमाया तुम्बाफाङ्फेले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा अन्तर्राष्ट्रिय अदालत र सर्वोच्च अदालतका फैसलालाई पनि ख्याल गर्न आग्रह गरे  । नेपाली कांग्रेसका सांसद् डिला सङ्ग्रौला पन्तले बलात्कृत महिलाले न्याय पाउन अनशन बस्नुपरेकाले छिटो न्याय दिलाउन आग्रह गरे  । सोही पार्टीका सांसद् पुष्पा भुसाल गौतमले बलात्कारका घटना बढ्दो भएका अवस्थामा दोषीलाई कारबाही गराउन कानूनमा कहिले संशोधन हुन्छ भनी जिज्ञाशा राखे  । 

राष्ट्रिय जनमोर्चाका सांसद् दुर्गा पौडेलले मिटर ब्याज प्रणाली, ढुकुटीजस्ता कार्यले धेरैको घरबार गुमेको भन्दै यस्तो अवस्थालाई कसरी कानूनी नियन्त्रणमा लिने भनेर खुलाइदिन आग्रह गरेका  थिए  । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले अमेरिकी सरकारसँगको एसपिपी सम्झौताबारे स्पष्ट पार्न माग गरेका  थिए  ।


 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार