सोसल मिडिया
Contact Us
युनिकोड
गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ जिल्ला सदरमुकाम अन्तर्गत बागलुङ बजारदेखि खहरेसम्म सडक कालोपत्र भएको छ । बागलुङ बजारको उपल्लाचौर देखि घोडाबाधे सम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको सडक तल्लो खण्डको खहरेसम्म र उपल्लो खण्डमा इनारपानी सम्म सडक कालोपत्र भइसकेको मध्य पहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डमा ठेक्का सम्झौता भएको ६ वर्षपछि सडक कालोपत्र भइरहेको छ । अहिले बागलुङ बजार खण्ड र बिहुँ खण्डमा कालोपत्रको काम भइरहेको छ ।
लामो समयदेखि अलपत्र पर्दै आएको मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ जिल्लाको सदरमुकाम खण्डमा अहिले धमाधम सडक कालोपत्र र पूर्वाधार निर्माण भइरहेको छ । सडकको अछेते आसपासमा कालोपत्रका लागि निर्माण गर्ने, पर्खाल लगाउने, ग्याबिन लगाउने लगायतका पूर्वाधारको काम समेत धमाधम भइरहेको छ । जिल्ला सदुमुकामको उपल्लाचौर देखि घोडाँबाधे सम्मको २५ किलोमिटर सडक मध्ये घोडाबाँधे बिहुँ खण्डमा ६ किलोमिटर र उपल्लाचौरदेखि खहरेसम्म ५ किलोमिटर सडक गरी जम्मा ११ किलोमिटर थप सडक कालोपत्र सम्पन्न भइसकेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।
“उपल्लो खण्डमा त केही ढिलाइ भएको छ, तल्लो खण्डमा कामको सन्तोषजनक अवस्था छ अहिले खहरेदेखि अछेतेसम्म असार अघि कालोपत्र गर्ने हाम्रो योजना छ त्यही अनुरुप बेश हाल्ने काम भइरहेको छ, उपल्लो खण्डमा सामान्य काम भइरहेको छ”, भण्डारीले भने “२५ किलोमिटर सडक मध्ये ११ किलोमिटर सडक कालोपत्र भइसकेको छ, अब १४ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ, असार सम्म ४ किलोटिमर सडक कालोपत्र गर्ने लक्ष्य छ ।”
भण्डारीले असारसम्म पानीले समस्या नपारे हदैसम्म सडक सुधार हुने बताए । उनले केही सडक कालोपत्र सम्पन्न भइसक्दा यो बर्खामा यात्रुले यात्रामा केही कम सास्ती खेप्नेछन् । लोकमार्गको टाउको दुखाइ रहेको बोक्से खाल्टोले समेत यो बर्खामा सताउने छैन । अहिले बोक्सेको पहिरोग्रस्त क्षेत्रमा ३०० मिटर क्षेत्रमा ढलान गरिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटर बाहेक अन्य सडक यस अघिनै कालोपत्र भइसकेको छ ।
तर गलकोट खण्डमा अहिले कालोपत्र सडक क्षत्विक्ष् भएको छ । मर्मतका लागि ठेक्का आह्वान गरिएको छ । मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाँबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो । कूल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ ।