ब्राजिलमा तीनवटै सैन्य प्रमुखले दिए एक साथ राजीनामा

बुधबार, चैत १८, २०७७

ब्रासिलिया । ब्राजिलमा सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिएका छन् । राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरुले राजीनामा दिएको बताइएको छ । राष्ट्रपति जइर बोल्सोनारोले राजनीतिक सङ्कट झेलिरहेका अवस्थामा पुनः सेनातर्फका तीन ओटा उच्च पदबाट राजिनामा आएको छ । राष्ट्रपतिसँग मतभेद भएर ब्रजिलका सेना, नवसेना तथा हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिनु सन् १९८५ पछिको पहिलो हो ।  सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य भएका थिए । बोल्सोनारोका समर्थक मानिएका विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिएको भोलिपल्टै सेना, नौसेना र हवाई सेनाका प्रमुखको राजीनामा आएको छ ।  सन्  २०१९ को जनवरी बोल्सोनारोले सत्ता सम्हालेयताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कटको सामना गरेका छन् ।  कोरोना भाइरस सङ्क्रमणको कारण विश्वमा दोस्रो स्थानमा परेको ब्राजिलमा कोरोनाभाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो छ । ब्राजिलमा कोरोनाभाइरसका कारण अहिलेसम्म तीन लाख १७ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १९:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार