देउवा र दाहालबीच भेटमा सरकार गठनबारे छलफल

बुधबार, चैत १८, २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।  देउवा निवास बुढानिलकण्ठमा मंगलबार अपराह्न भएको भेटवार्तामा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।  भेटमा माओवादी केन्द्र अध्यक्ष दाहालले देउवालाई सरकार गठनबारे प्रष्ट निर्णय दिन आग्रह गरेको बताइएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । भेटमा प्रचण्डले मिलेर सरकार बनाउने कि नबनाउने विषयमा ठोस निर्णय गर्न देउवालाई आग्रह गरेका थिए । 
देउवाले जनता समाजवादी पार्टी (जसपा)सँग कुराकानी गरी निर्णय लिने जवाफ दिएका थिए ।  माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि प्रस्ताव राख्दै आएको छ । कांग्रेस नेताहरु पनि देउवाको नेतृत्वमा सरकार बनाउन एकमत देखिएका छन् । जसपाले निर्णय नगर्दा देउवा सरकार गठनको विषयमा कसरत गर्न अलमलिएका छन् । जसपामा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहितका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर सम्वादमा छन् भने संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र महतोलगायतका नेताहरु ओली सरकारको विकल्प दिनुपर्ने पक्षमा छन् । विघटित प्रतिनिधिसभा सर्वाेच्च अदालतले गत फागुन ११ गते पुनःस्थापना गरेपछि र फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठनका सम्बन्धमा सर्वाेच्चले गरेको निर्णयपछि दलहरूबीच नयाँ सत्ता समीकरणबारे छलफल हुँदै आएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ०५:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार