सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वाेच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गराएको छ । अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू मंगलबार मध्यह्न सर्वाेच्च पुगेर निवेदन दर्ता गराएका हुन् । अध्यक्ष दाहालसँगै वर्षमान पुन, मातृका यादव, दीनानाथ शर्मा, जनार्दन शर्मा, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङ, पम्फा भुसालसमेत सर्वोच्च अदालत पुगेका थिए । निवेदन दर्ता गराएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले पार्टीको नामसम्बन्धी मुद्दामा भएको फैसला अस्वाभाविक र अप्राकृतिक रहेको तथा राजनीतिक प्रकृतिको निर्णय भएको भन्दै आफूले पहिल्यैदेखि असहमति जनाउँदै आएको बताए । ‘हामीलाई विश्वास छ, देशको राजनीतिक स्थायित्वका निम्ति शान्ति र समृद्धिको एउटा नयाँ अभियानमा नेपाल जाँदै छ, यस्तो बेलामा एकताबद्ध भइसकेका दलहरूलाई विभाजित गर्नेजस्तो राजनीतिक काम, अदालतले जो निर्णय ग¥यो, त्यो सच्याउनेछ’, अध्यक्ष दाहालले भने । फागुन २३ गते न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो । सर्वाेच्चको आदेशमा दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक ठहर गर्दै गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो । माओवादी केन्द्रलाई सांसद रामनारायण बिडारी, वरिष्ठ अधिवक्ता शम्भु थापा, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, दिनमणि पोखरेल, मुक्ति प्रधानलगायतका कानुन व्यवसायीले सर्वाेच्चको फैसलाउपर पुनरावलोकनमा जान सुझाव दिएका थिए ।