किमलाई भेट्न बाइडन अनिच्छुक : ह्वाइट हाउस

उत्तर कोरिया–अमेरिका सम्बन्ध
मंगलबार, चैत १७, २०७७

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडन उत्तर कोरियाली नेता किम जङ–अनलाई भेट्न इच्छुक नरहेको ह्वाइट हाउसले पुष्टि गरेको छ । अमेरिकी अधिकारीहरू भन्छन्, ‘उत्तर कोरियाप्रति राष्ट्रपति बाइडनको रवैया उनका पूर्ववर्ती डोनल्ड ट्रम्पको भन्दा फरक हुनेछ ।’ बाइडनले किमलाई भेट्न किन चाहेका छैनन् भन्नेबारे ह्वाइट हाउसले केही उल्लेख गरेको छैन ।

एकअर्कालाई धम्की दिने गरेको एक वर्षपछि सन् २०१८ मा ट्रम्प र किमबीच पहिलो पटक सिङ्गापुरमा भेटवार्ता भएको थियो । उत्तर कोरियाली नेतालाई भेट्ने ट्रम्प पहिलो बहालवाला अमेरिकी राष्ट्रपति थिए । त्यसको एक वर्षपछि सन् २०१९ मा दुई नेताबीच कोरियाली असैनिकीकृत क्षेत्रमा भेटघाट भएको थियो । दुई साताअघि बाइडन प्रशासनले गत फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरिए पनि प्योङ्याङबाट कुनै जबाफ नपाएको बताएको थियो ।

अधिकारीहरूका अनुसार बढ्दो तनावलाई मत्थर पार्न वाशिङ्टनबाट प्योङ्याङलाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरिएको थियो । प्योङ्याङसँग सम्पर्क गर्ने प्रयासअन्तर्गत न्यूयोर्क च्यानल भनिने संयुक्त राष्ट्रसंघमा रहेको उत्तर कोरियाली नियोगलाई समेत प्रयोग गरिएको थियो । एक अमेरिकी अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार उत्तर कोरियासँग ‘कैयौँ पटक’ सम्पर्क गर्न खोजिए पनि १२ महिनाभन्दा बढी समयमा कुनै अर्थपूर्ण सम्पर्क स्थापना हुन सकेन । त्यो अवधिमा ट्रम्पको कार्यकालको अन्तिम वर्षको धेरैजसो समय पनि समेटिन्छ ।

असहज सम्बन्ध

उत्तर कोरियाली पारमाणविक तथा बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई लिएर दुई देशबीच लामो समयदेखि असहज सम्बन्ध रहेको छ । किम र उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जो बाइडन अमेरिकी राष्ट्रपति बनेको कुरालाई अझै आत्मसात गरिनसकेको बताइन्छ । बाइडनले उत्तर कोरियाका लागि अमेरिकी नीतिको समीक्षा गर्ने घोषणा गरिसकेका छन् ।

ट्रम्प–किम सहमतिपत्रमा के छ ?

सन् २०१७ मा उत्तर कोरियाले अमेरिकी शहरहरूमा मार हान्न सक्ने क्षमताका क्षेप्यास्त्र परीक्षण गरेपछि दुई देशबीचको सम्बन्ध झन् बिग्रिएको थियो । कोरोनाभाइरस महामारीका कारण अहिले बाह्य विश्वको सम्पर्कबाट अलग्गिएको उत्तर कोरियाका सीमा पनि एक वर्षदेखि बन्द छन् ।–बीबीसी

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  ११:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार