भैरहवा बस दुर्घटना, एक महिलासहित ९ जनाको मृत्यु 

आइतबार, जेठ २२, २०७९

भैरहवा । रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिलासहित ९ जनाको मृत्यु भएको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । यात्रुमध्ये ४ जनाको भिम अस्पतलामा र ५ जना युसिएमएस मेडिकलमा मृत्यु भएको छ । बसमा दुई बच्चा  र ६ जना महिलासहित ३४ जना सवार थिए । 

जनकपुरबाट भैरहवा आउदै गरेको यात्रु वाहक बस भैरहवा–परासी सडक खण्ड रोहिणी ४ मा आज बिहान करिब साढे ४ बजे खोलामा बस खसेको थियोे । सवार यात्रुमध्ये घाइते  चालक, सहचालकसहित सबैको भैरहवास्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।  

चालक सुमन क्षेत्रीका अनुसार पुलमा अगाडिबाट सानो गाडी आएर लाइटसँग झुक्किएपछि गाडी अन्यिन्त्रित भएको हो । पुलमा खाल्डो पनि भएकोले जोगाउन खोज्दा बस आफ्नो साइडबाट गलत साइडमा गएको हो, चालक क्षेत्रीले भने । 

लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । घोप्टो अवस्थामा बस भेटिएपछि नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले उद्वार गर्दैै यात्रुहरुलाई अस्पताल पठाएको छ । बसलाई सुल्टो पारेर राखिएको छ । 

मृतक मध्ये ओमसतिया–४ का अन्दाजी ६० वर्षिय राजेन्द्रर पाण्डे, बुटवल ११ का ४५ वर्षिय कृष्ण बस्याल र तिलोत्तमा योगिकुटीका ५६ वर्षिय निष्णु पौडेलेको मात्रै सनाखत भएको छ । मृतकको पहिचान बारे थप अपडेट आउन बाँकी रहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । चालक क्षेत्री र सहचालक तुलसीराम चौधरीको अवस्था खतरामुक्त  छ ।

दुर्घटनामा परेको बस पश्चिम नेपाल वस व्यवसायीको नियमित रुटको बस हो । 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार