पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

मंगलबार, चैत १७, २०७७

काठमाडौं । पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ । एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबार राति ८.२० मा निधन भएको हो ।  राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लाग्नुभएका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित थिए ।  जिन्दगीभर कुनै पनि सरकारी पद लिन नचाहेका मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आएका थिए । नेकपा (संयुक्त) स्थापनामा उनको ठूलो योगदान रहेको छ । विसं २०४६ को जनआन्दोलनपछि उनलाई मन्त्री बन्न आग्रह गरिएपनि उनले निलाम्बर आचार्यलाई सहजै उक्त जिम्मेवारी सम्हाल्न अनुरोध गरेका थिए । नेता मानन्धरले कम्युनिष्ट आन्दोलनमा हुर्किएको अवसरवादको सधै प्रतिवाद गर्दै आएको उनलाई नजिकबाट चिन्ने जान्ने नेताहरुको भनाइ छ ।  संयुक्त वाममोर्चा निर्माणदेखि पछिल्लो पटक नेकपा (संयुक्त) सम्मको स्थापनामा महत्वपूर्ण योगदान गर्नुभएका मानन्धर खास अर्थमा सर्वहारा नेताको रुपमा आफूलाई स्थापित गरे । पूर्वमन्त्री गणेश शाहका शब्दमा नेता मानन्धरले जिन्दगीभर ‘मलाई कुनै पनि सरकारी सेवा तथा सुविधाको पद चाहिदैन, नेपाली जनताको हितबाहेक मेरा लागि अरु सबै विषय गौण हुन’ भन्ने मान्यता राख्थे । उनका छोरा सुनिल मानन्धर नेकपा (माओवादी केन्द्र) का नेता छन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  ०८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार